झापा । पाँचथरको कुम्मायक गाउँपालिकाबाट प्रहरीले धारिलो हतियार खुकुरी, इन्सास राइफलको गोली र बारुदसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार कुम्मायक गाउँपालिका–१ यासोक बजारस्थित पाँचथर फिदिम नगरपालिका–६ सिवा बस्ने ३२ वर्षीय सुसन तुम्बापोले धारिलो हतियार खुकुरी देखाई धाकधम्की दिइरहेको सूचना पाएपछि प्रहरी टोली खटिएको थियो।
प्रहरीले उनको शरीर खानतलासी गर्दा दापसहितको खुकुरी २ थान, इन्सास राइफलको लाइभ राउण्ड १ थान तथा बारुदजस्तो देखिने पदार्थ २७.७१ ग्राम बरामद गरेको जनाएको छ।
बरामद सामग्रीसहित तुम्बापोलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याइएको छ। उनलाई जिल्ला अदालत फिदिमबाट खरखजाना तथा विष्फोटक पदार्थ कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















