बिर्तामोड । चाडपर्वको उल्लासलाई संगीतसँग जोड्दै बिर्तामोडका दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले झापाको बिर्तामोडमा ‘जमरा एण्ड द विट्स’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

डिजि भेन्टसको आयोजनामा आगामी असोज ३० गते आयोजना हुने कार्यक्रममा राष्ट्रियस्तरका कलाकार तथा सांगीतिक समूहले आफ्ना प्रस्तुति दिनेछन् । चाडपर्वको रमझमलाई थप उत्साहपूर्ण बनाउने र संगीतप्रेमीलाई एउटै मञ्चमा मनोरञ्जन दिलाउने लक्ष्यसहित कार्यक्रमको तयारी गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा चर्चित र्‍यापर जेमसी, दि फिरन्ते ब्याण्ड तथा केयरसिंह लुङ्गाको विशेष सांगीतिक प्रस्तुति रहनेछ । फरक–फरक सांगीतिक स्वाद मन पराउने दर्शकलाई लक्षित गरी तयार पारिएको कार्यक्रमले बिर्तामोडको सांगीतिक माहोललाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ ।

आयोजक जीवन भण्डारीका अनुसार चाडपर्वलाई गीत–संगीतसँग जोडेर उत्सवमय बनाउने र स्थानीय दर्शकलाई राष्ट्रिय कलाकारसँग प्रत्यक्ष रमाउने अवसर प्रदान गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो । मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत जोडिने लक्ष्य आयोजकले राखेको उनले बताए ।

‘चाडपर्वमा संगीतलाई पनि मिसाउनुपर्छ । राष्ट्रिय कलाकार ल्याएर बिर्तामोडका दर्शकलाई मनोरञ्जन दिने हाम्रो उद्देश्य हो,’ भण्डारीले भने, ‘कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक कार्यसँग पनि जोड्न चाहन्छौँ ।’

आयोजकले कार्यक्रममा करिब तीन हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ । दर्शकको रुचि र सहभागितालाई ध्यानमा राख्दै टिकटको मूल्य एक हजार, एक हजार पाँच सय र दुई हजार रुपैयाँ निर्धारण गरिएको छ । विभिन्न क्याफेबाट समेत टिकट खरिद गर्न सकिने आयोजक रोहन पोखरेलले जानकारी दिए ।

चाडपर्वको समयमा साथीभाइ तथा परिवारसँग रमाउने, मनपर्ने कलाकारको प्रस्तुति प्रत्यक्ष हेर्ने र संगीतको माहोलमा उत्सव मनाउने दर्शकका लागि ‘जमरा एण्ड द विट्स’ विशेष अवसर बन्ने आयोजकको विश्वास छ ।

बिर्तामोडमा पछिल्लो समय सांगीतिक कार्यक्रमप्रति बढ्दो आकर्षणका बीच आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय मनोरञ्जन क्षेत्रलाई थप चलायमान बनाउनुका साथै युवापुस्तालाई सांगीतिक गतिविधिमा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

संगीत, उत्साह र चाडपर्वको उमंगलाई एकै ठाउँमा समेट्ने लक्ष्यसहित आयोजना हुन लागेको ‘जमरा एण्ड द विट्स’ ले दर्शकलाई अविस्मरणीय सांगीतिक अनुभव दिलाउने अपेक्षा आयोजकले गरेको छ ।