बिर्तामोड । प्रतिस्पर्धात्मक खेलमा झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब झापाको दुधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै एपिएफले कम्तिमा ५ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।
खेलको २६ औँ मिनेटमा एपिएफले अग्रता लियो । झापाकी सेमिहाङमा लिम्बुले एपिएफकी रश्मिकुमारी घिसिङलाई डि–एरिया नजिकै फाउल गरेकी थिइन् । त्यसपछि पाएको फ्रि–किकलाई रश्मिले सोझै पोस्टको दिशा दिइन् । एपिएफले खेलको ३८ औँ मिनेटमा अग्रता दोब्बर बनायो । मनमाया दमाईले मध्यभागमा दिएको पासलाई रश्मिले झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो ।
खेलको सुरुवाती चरणबाटै झापाले रक्षात्मक तथा एपिएफले आक्रामक खेल प्रस्तुत गरेको थियो । झापाले निकालेको अवसरहरु पनि फितलो स्ट्राइकिङ लाइन र एपिएफको बलियो डिफेन्सका कारण विफल बनेका थिए । १३ जना राष्ट्रिय खेलाडी सम्मिलित एपिएफ क्लबले झापासँग अपेक्षित खेल प्रदर्शन गर्न सकेको थिएन ।
दोस्रो हाफमा झापाले सुधारिएको प्रदर्शन गर्यो । एपिएफका दर्जनौँ प्रहार झापाका डिफेन्डरले बिफल बनाएका थिए । एपिएफका रश्मि, पुर्णिमा राई, अनिता केसी, कुसुम खतिवडा लगायतका स्ट्राइकरलाई झापाका डिफेन्डरले स्कोर बढाउन अवरोध गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि (बिहीबार) अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।




















