बिर्तामोड । लामो समयको प्रतिक्षापछि झापाको शनिश्चरे–बिर्तामोड सडक कालोपत्रे सुरु भएको छ । सडक निर्माण नहुँदा लामो समयदेखि त्यस क्षेत्रबाट यात्रा गर्ने यात्रुले सास्ती पाउँदै आएका थिए । 

pich

आइतबारदेखि सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्म कालोपत्रे सुरु भएको छ । ठेकेदार संस्थाले मंगलबारसम्ममा डेढ किलोमिटरको त्यस खण्ड पुरा गर्ने आश्वासन दिएको नगरप्रमुख बलदेबसिंह गोम्देनले जानकारी दिए । नगरपालिकाकाे क्षेत्राधिकारभित्र नपर्ने भएपनि स्थानीयकाे असन्तुष्टी सम्बाेधन भएकामा उनले आफुलाई ठुलाे सफलता मिलेकाे टिप्पणी गरे । 

सडक निर्माण गर्नका लागि ‘प्रविण मैनाचुली शान्ति’ जेभीले ठेक्का पाएको थियो । समयमा रकम निकासा नहुँदा निर्माणकार्य समयमै गर्न नसकिएको ठेकेदार संस्थाले जनाएको छ । तर, सभामुख देबराज घिमिरे र नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा आंशिक रकम निकासा भएपछि पहिलो चरणमा १ दशमलब ५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न गर्न लागिएको उनले बताए । गत जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने गरी २०७९ जेठमा ठेक्का लागेको सो सडकको निर्माण कम्पनीले मागेको रकम राज्यले समयमा भुक्तानी गरेको थिएन । 

१५ करोड ६० लाख रुपैंयाँमा ठेक्का लागेको सो सडक बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्तानसम्म ६ दशमलब २ किलोमिटरको हुने छ । बिर्तामोडदेखि दासपुलसम्म दुई लेन, दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ । 

यसअघि सडकमा सवारी साधन चलाउन नसक्ने गरी खाल्डा खुल्डी भएका कारण कतिपटक सवारी साधन दुर्घटनामा परेका थिए । स्थानीयले सडक निर्माण गर्न दवाब दिने उदेश्यले पटक–पटक सडक अवरुद्ध गर्दै आएका थिए । सडक अवरुद्ध भएपछि सवारी साधनले लामो समयदेखि बैकल्पिक सडक प्रयोग गरिरहेका छन् । 

योे सडक शंकास्पद रुपले निर्माण भइरहेका छ । निर्माणस्थलमा आयोजना सुचना पाटी नराखेका कारण यहाँको लगानीका बिषयमा स्थानीयले थाहा पाएका छैनन् । उनीहरुले सडकको संरचना तथा ठेक्का लागेको रकमको अंक समेत थाहा नपाएको बताएका छन् । निर्माण कम्पनीले स्थानीयले आलोचना गरेपनि आयोजना सुचना पाटी राखेको छैन ।