बिर्तामाेड । एकसाताअघि ४० रुपैयाँ प्रतिकिलो रहेको प्याजको मूल्य यतिबेला दोब्बरबढी बृद्धि भएको छ । आज बिर्तामोडको कृषिथोक बजारमा प्याजको थोक मूल्य ७० देखि ७५ रुपैयाँ रहेको थियो भने खुद्रा मूल्य ९० देखि सय रुपैयाँसम्म पुगेको छ ।

कृषिथोक बजारकी बजार निरीक्षक माया राजवंशीले शुक्रवार प्याजको थोक मूल्य ७० देखि ७५ रुपैयाँ र खुद्रा मूल्य ८० देखि सय रुपैयाँ रहेको जानकारी दिइन् । भारतले निर्यातमा ४० प्रतिशत कर लगाएपछि भदौ ५ गतेदेखि नेपाली बजारमा प्याजको भाउ बढेको हो ।

नेपालमा कम मात्रामा प्याज उत्पादन हुने र अधिकांश प्याज भारतबाट आउने भएकाले भारतले निर्यात कर लगाएपछि र मूल्यबृद्धि गरेपनि महँगो मूल्यमा नेपाली उपभोक्ता खरिद गर्न बाध्य भएका छन् ।

केही दिनअघि १५–१६ भारतीय रुपैयाँ पर्ने प्याज अहिले भारतमा ३०–३१ रुपैयाँ पुगेको बिर्तामोडका व्यापारीहरु बताउँछन् । भारतको पटनाबाट प्याज आयात गर्दै आएका बिर्तामोडका लक्ष्मणकुमार शाहले भारतमा भएको मूल्यबृद्धि ,भारतीय सरकारले लगाएको ४० प्रतिशत निर्यात कर र नेपालको विभिन्न करले गर्दा प्याजको मूल्य अकासिएको बताए । उनले पटनामा रातो प्याज प्रतिकिलो ३३ रुपैयाँ पर्ने गरेको बताउँदै त्यसको ढुवानी खर्च प्रतिकिलो २ रुपैयाँसंगै ४० प्रतिशत निर्यात कर तिर्नु परिरहेको जानकारी दिए । त्यस्तै नेपालतर्फ ९ प्रतिशत भन्सार शुल्क , १३ प्रतिशत भ्याट र डेढ प्रतिशत एआइटी कर तिर्नु परेको उहाँले जानकारी दिए ।

भारतले लिने गरेको ४० प्रतिशत निर्यात करसंगै नेपाल सरकारलाई आफूहरुले २३ प्रतिशत कर बुझाउनु परिरहेको अर्का व्यवसायी त्रिलोक शाहा बताउँछन्  । भारतले लिन थालेको ४० प्रतिशत निर्यात कर घटाउन नेपाल सरकारले पहल गरिरहेकाले प्याजको मूल्य घट्न सक्ने उनको अनुमान छ ।

कोरोना महामारीका बेलाजस्तो प्याजको भाउ नबढ्ने उनले बताए । त्यतिबेला नेपालमा प्याज २ सय रुपैयाँ किलो पुगेको थियो । झापामा थोरै मात्र प्याज खेती हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार झापामा आर्थिक वर्ष २०७९–०८० मा २.५८ हेक्टरमा प्याज खेती भएको थियो । जसबाट ५ हजार १९० मेट्रिक टन प्याज उत्पादन भएको थियो । जवकि बिर्तामोडको कृषि थोक बजारमा दैनिक २५ देखि ३० टन प्याज भित्रिने गरेको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै व्यवसायीले प्याज भित्र्याउने गरेका छन् ।