झापा । झापाको अर्जुनधारामा बुधबार अपराह्न चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा २ का मोहनप्रसाद दुलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्जुनधारा २ चौरासेस्थित अन्दाजी अपराह्न ४ः५० बजे घरनजिकैको मकैबारीमा मल लगाउँदै गरेको अवस्थामा ५४ वर्षीय दुलाललाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर छाती तथा पेटको भागमा पिल्सिएर घाइते अवस्थामा उनका आफन्तले फेला पारेका थिए । उनलाई गम्भीर अवस्थामा उपचार लागि आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोडमा लगेका थिए ।

बिर्तासिटीमै गम्भीर अवस्थामा उपचार भइरहँदा साँझ ६ः२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

झापामा लामो समयदेखि वर्षा भएको थिएन । आज अपराह्न चट्याङसँगै सामान्य वर्षा भएको थियो । सोही क्रममा दुलाललाई चट्याङ लागेर घाइते भएका थिए ।