बिर्तामोड । पूर्वेली ढुवानी सेवाले असोज महिनाको ‘चालक अफ द मन्थ’ फिदिम नगरपालिका ३ पाँचथरका सविन श्रेष्ठलाई प्रदान गरेको छ।
कम्पनीका अध्यक्ष निर्मलराज खत्रीले चालक श्रेष्ठलाई यस महिनाको उत्कृष्ट चालक घोषणा गर्दै प्रशंसा पत्रसहित नगद ५ हजार १ सय रुपैयाँ प्रदान गरेका थिए। चालकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले पूर्वेलीले असोज महिनादेखि ‘चालक अफ द मन्थ’ कार्यक्रम सुरुवात गरेको हो।
चालकहरूको मनोबल बढाउन सुरु गरिएको यो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने कम्पनीका अध्यक्ष खत्रीले जानकारी दिए ।
चालक, सहचालकहरूले संस्थाको उन्नयनमा पुर्याएको महत्वपूर्ण योगदानको मूल्याङ्कनका आधारमा वार्षिकरुपमा सम्मान गर्ने व्यवस्था पनि लागू गरिएको कम्पनीले जनाएको छ ।
पूर्वेली ढुवानीले चालक, सहचालकहरूको हितलाई ध्यानमा राखेर आकस्मिक कोषको समेत व्यवस्था गरेको छ।
पूर्वेलीले गत असोज १ गते विश्वकर्मा पूजाको अवसरमा चालक तथा अग्रज व्यक्तित्वलाई सम्मान गरेको थियो। उत्कृष्ट चालकका रूपमा हिलिहाङ गाउँपालिका २ का नरेश मगरलाई ३१ हजार रुपैयाँ र सोही ठाउँका सुवास प्रसाईलाई २१ हजार रुपैयाँ नगदसहित सम्मान गरेको थियो ।
सहचालकतर्फ हिलिहाङ गाउँपालिका २ का सुजन हेम्ब्यालाई नगद ५ हजार १ सय रुपैयाँसहित सम्मान गरिएको थियो ।यसैगरी यातायात क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै बिर्तामोड ५ का तेजप्रसाद कडरियालाई नगदसहित विशेष सम्मान गरिएको थियो।



















