अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा आगामी कार्तिक १३ गतेदेखि वडास्तरीय तीनदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नगर खेलकुद विकास समितिको आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नं. ६ को कार्यालयको सह-आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिता अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।
नगरका ११ वटै वडाका टिमको सहभागिता रहने प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलप्रतिभाको पहिचान गर्दै नगरस्तरीय भलिबल टिम निर्माण गर्नु र नयाँ खेलाडी उत्पादन गर्नु रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
उनका अनुसार वडामा रहेका खेलाडीलाई खुला सहभागिताको अवसर प्रदान गर्दै उनीहरूको क्षमता पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा भलिबल संघको नियमअनुसार खेल सञ्चालन गरिनेछ । प्रत्येक टिममा १२ जना खेलाडी रहने व्यवस्था गरिएको छ । प्रतियोगिताका खेलहरू बेस्ट अफ थ्री प्रणालीमा सञ्चालन हुनेछन् भने फाइनल खेल बेस्ट अफ फाइभ प्रणालीमा खेलाइनेछ ।
प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ र तृतीय हुने टिमले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ बापत १ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई ४ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, मिडल ब्लकर, उदियमान खेलाडी, प्रशिक्षक, डिफेन्डर र सर्भरलाई जनही २ हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर खेलकुद विकास समितिका सदस्यसचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
स्थानीय तहमा रहेका भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै नगरको प्रतिनिधित्व गर्न सक्ने प्रतिस्पर्धी टिम तयार पार्न प्रतियोगिताले सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।




















