बिर्तामोड । आस्था, विश्वास र सेवाभावलाई एकै ठाउँमा जोड्दै इलामको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा यस वर्ष पनि बडादशैँको अवसर पारेर पाथीभरा भण्डारा आयोजना हुने भएको छ । फूलपातीका दिन सञ्चालन हुने भण्डारा यसपटक २३औँ श्रृंखलामा प्रवेश गर्दैछ ।
धार्मिक यात्रालाई थप आत्मीय र सेवामूलक बनाउने उद्देश्यले बिर्तामोडका व्यवसायीहरूले सुरु गरेको यो अभियान अहिले निरन्तर चलिरहेको सेवाको परम्परा बनेको छ । वर्षौँदेखि सञ्चालन हुँदै आएको भण्डाराले पाथीभरा दर्शन गर्न पुग्ने भक्तजनलाई धार्मिक आस्थासँगै निःशुल्क भोजन तथा प्रसाद ग्रहण गर्ने अवसर प्रदान गर्दै आएको छ ।
पाथीभरा मन्दिरमा दर्शन गर्न जाने भक्तजनको चाप विशेषगरी चैते दशैँ र बडादशैँको समयमा बढ्ने भएकाले वर्षमा दुईपटक भण्डारा सञ्चालन गर्ने परम्परा बसालिएको पाथीभरा भण्डारा समितिका सदस्य सन्तोष अग्रवालले जानकारी दिए ।
उनका अनुसार चैते दशैँ र बडादशैँको अवसरमा आयोजना गरिने भण्डाराले टाढाटाढाबाट आउने दर्शनार्थीलाई सहज रूपमा प्रसाद ग्रहण गर्न सहयोग पुर्याउँदै आएको छ ।
भण्डारामा मन्दिरमा पूजा तथा दर्शन गरेपछि भक्तजनले पुरी, सब्जी, बुनिया लगायतका परिकार प्रसादका रूपमा ग्रहण गर्न सक्नेछन् । यस वर्ष एक हजारभन्दा बढी दर्शनार्थीले भण्डाराबाट सेवा लिन सक्ने आयोजकको अपेक्षा छ ।
भण्डारा केवल भोजन वितरणमा सीमित नरहेको समितिको गतिविधिले देखाउँछ । पाथीभरा मन्दिर क्षेत्रका विभिन्न संरचना निर्माण तथा विकासका काममा समेत समितिले सक्रियता देखाउँदै आएको छ । धार्मिकस्थलको विकासमा सहयोग पुर्याउनुका साथै दर्शनार्थीलाई सेवा दिने उद्देश्यले समितिले आफ्नो गतिविधिलाई निरन्तरता दिँदै आएको हो ।
धार्मिक आस्था, सामाजिक उत्तरदायित्व र सामूहिक सेवाभावको संयोजन बनेको पाथीभरा भण्डाराले व्यवसायीहरू पनि सामाजिक तथा धार्मिक सेवामा सक्रिय हुन सक्छन् भन्ने सन्देश दिएको छ । फूलपातीका दिन आयोजना हुने २३औँ श्रृंखलाले पाथीभरा दर्शनमा पुग्ने भक्तजनलाई सेवा प्रदान गर्नुका साथै वर्षौँदेखि कायम रहेको सेवाको परम्परालाई पनि निरन्तरता दिनेछ ।
बिर्तामोडका व्यवसायीहरूको पहलबाट सुरु भएको यो अभियान अहिले धार्मिक यात्रामा सहभागी भक्तजनका लागि सहयोग र सद्भावको माध्यम बनेको छ ।




















