बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा स्वतन्त्र समावेशी समूहले खानेपानीको सेवा सुधार र संस्थागत पारदर्शितालाई मुख्य एजेन्डा बनाउँदै उम्मेदवारी घोषणा गरेको छ।
मंसिर १४ गते हुने निर्वाचनका लागि देवेन्द्र सिटौलाको नेतृत्वमा समूहले उम्मेदवार सार्वजनिक गर्दै १६ बुँदे प्रतिबद्धतापत्रसमेत अघि सारेको हो।
समूहबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा नन्दबहादुर तामाङ, सचिवमा प्रदीप खरेल र कोषाध्यक्षमा केशवकुमार श्रेष्ठ उम्मेदवार बनेका छन्। त्यस्तै, महिला सदस्यमा पुनम अधिकारी लिम्बू, निर्मला खरेल ओडारी र गंगादेवी कन्दङवा तथा सदस्यमा गजेन्द्र ओली र रामचन्द्र प्रसाईं उम्मेदवार रहेका छन्।
समूहले खानेपानीको न्यूनतम युनिट १० बाट बढाएर २० युनिट पुर्याउने, नयाँ धारा जडान खर्च घटाएर ५ हजार रुपैयाँ मात्र लिने, अनलाइनबाट सेवा प्रवाह गर्ने र संस्थाको विधान संशोधन गर्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, अपाङ्गता भएका व्यक्ति, गरिब तथा पिछडिएका वर्गलाई सहुलियत दरमा मिटर उपलब्ध गराउने, घरको माथिल्लो तलासम्म खानेपानी पुर्याउने र गुणस्तरीय खानेपानीको नियमित आपूर्ति गर्ने योजना अघि सारेको छ। दुई वर्षभित्र सबै टोलमा खानेपानी विस्तार गर्ने लक्ष्यसमेत समूहले राखेको छ।
पानीका मुहान, खोलानाला तथा सहरलाई सफा राख्ने, अन्धुवा, धधरे र रेखा खोलामा रहेका पानीलाई जलाशयका रूपमा विकास गर्ने तथा मुक्तिचोकमा रहेको फायर हाइड्रेन्टलाई अन्य घना बस्तीमा विस्तार गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ।
यसैगरी, आर्थिक अनियमितता हुन नदिने, ट्याङ्की नम्बर २ को फिल्टर परिवर्तन गर्ने, जोखिम व्यवस्थापन तथा आकस्मिक सेवा प्रदान गर्ने, साना तथा टुटफुट भएका पाइपलाइन परिवर्तन गर्ने र खानेपानीलाई मिनरल वाटरका रूपमा जार तथा बोतलमा उपलब्ध गराउने योजना पनि समूहले सार्वजनिक गरेको छ।
खानेपानीको सहज पहुँच, नियमित आपूर्ति र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै निर्वाचनमा जाने समूहले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्ने जनाएको छ।
निर्वाचन परिचालन समितिका संयोजक हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बद्री भट्टराईले गरेका थिए ।




















