बिर्तामोड । दोस्रो संस्करणको एक्स्ट्रिम झापा महिला गोल्डकपमा आज विभागीय डर्बीको भिडन्त हुँदैछ । दुधे रंगशालामा अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब खेल्दैछन् ।
विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच आज दिउँसो ३ बजे रोमाञ्चक भिडन्त हुँदैछ । आजको खेल फाइनल प्रवेशको लागि मात्र नभई नेपाली महिला फुटबलको दुई ठुला नामबीचको प्रतिष्ठाको लडाइँ पनि बन्ने अपेक्षा गरिएको छ ।
क्वार्टर फाइनल चरणमा आर्मीले भारतको कलकत्ताको गयेसपुर वुमेन्स फुटबल एकाडेमीलाई १०–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट लयमा रहेको संकेत दिएको थियो । त्यस्तै, पुलिसले बागमती युथ क्लबलाई ६–० गोलले हराउँदै आफू पनि उपाधि दाबेदार टोली भएको प्रमाणित गरेको थियो ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।




















