इलाम । इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ। आफ्नै घरको बरण्डामा शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा ५५ वर्षीय कमल परियार मृत फेला परेका हुन्।
स्थानीयवासीका अनुसार परियारको शव शनिबार बिहान फेला परेको हो। रोङ गाउँपालिका–३ पात्लेडाँडा निवासी परियारको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा शव भेटिएको प्रारम्भिक विवरणमा उल्लेख छ।
शनिबार बिहान करिब ८ः३० बजे स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
घटनास्थलबाट एउटा हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त हतियार घटनामा प्रयोग भएको हो वा होइन भन्ने विषय अनुसन्धानबाट पुष्टि हुन बाँकी छ। घटनामा संलग्न व्यक्ति हालसम्म फरार रहेकाले प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा परियार विगत चार वर्षदेखि आफ्नै घरमा एक्लै बस्दै आएको खुलेको छ। उनी एक्लै बस्दै आएको पृष्ठभूमिमा घटना कसरी र किन भयो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
घरमै एक्लै बस्दै आएका परियारमाथि कसले र के कारणले आक्रमण गर्यो भन्ने खुलेको छैन। घटनाको समय, सम्भावित कारण, संलग्न व्यक्तिको पहिचान तथा घटनामा प्रयोग भएको हतियारको प्रकृतिबारे अनुसन्धानपछि थप विवरण खुल्ने अपेक्षा गरिएको छ।
प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन तथा अनुसन्धान जारी राखेको जनाएको छ।



















