अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–५ ओमचोकस्थित एक घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार असोज ३० गते राति करिब ११ः१० बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले अर्जुनधारा–५ निवासी सीताराम थापाको घरमा छापा मार्दा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट १ लाख २२ हजार ७ सय ८० रुपैयाँ नगद र २ बुङ तास बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ४१ वर्षीय किशोर थापा, ५५ वर्षीय सीताराम थापा, ४२ वर्षीय यम चौहान, ४५ वर्षीय निरजकुमार खनाल, ३८ वर्षीय बलबहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी रहेका छन्। उनीहरू सबै अर्जुनधारा नगरपालिका–५, झापाका बासिन्दा हुन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।



















