झापा । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मा झापाबाट ११ खेलाडी छनोट भएका छन्। आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितामा झापाका विभिन्न पालिकाका खेलाडीले सहभागिता जनाउने भएका हुन्।

झापाबाट छनोट हुने खेलाडीमा मेचीनगरका चाहना नेम्वाङ, रेडुङमा राई, अनुष्का थापा मगर र जतन पनेरु छन्। त्यसैगरी बुद्धशान्तिका जुनु थेवे र साशा मैनाली, कनकाईका दिवस खड्का, अर्जुनधाराका गौरव इङनाम, भद्रपुरका रुजवाल बस्याल तथा बिर्तामोडका स्वयं अधिकारी छनोट भएका छन्।
राष्ट्रियस्तरकी खेलाडी इभाना थापा मगर पनि प्रतियोगितामा सहभागी हुने भएकी छन्। उनी भने छनोट चरण पार नगरी सिडेड खेलाडीका रूपमा प्रतियोगितामा सहभागी हुने प्रशिक्षक प्रकाश राईले जानकारी दिए ।
झापाबाट छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गर्दै जिल्लाको प्रतिनिधित्व गर्नेछन्। प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।



















