बिर्तामोड । बिर्तामोडको क्षितिज महिला बिकास समाजले दर्जनौ महिलालाई पुनर्जिवन दिएको छ ।  नेपाल र भारतका ड्रग्सको कुलतमा फँसेका युवतीहरुलाईसमेत समाजले पुनर्जिवन दिइरहेको छ ।

दुई बर्षअघि बिर्तामोडका दुई महिलाले स्थापना गरेको संस्थाले हालसम्म १३५ जना महिलाको उपचार गरिसकेको छ । जसमध्ये ३५ जना पुर्ण रुपमा दुब्र्यसनमुक्त भएर घर फर्किसकेका छन् । केही अझै फलोअपमा छन् ।

संस्थामा अहिले ४३ जना महिला उपचारकै क्रममा रहेका छन् । ‘१४ देखि ७२ बर्षसम्मका महिला यहाँ उपचारमा आउछन्–संस्थाका एकजना सञ्चालक तिलरुपा कटुवालले भनिन्–‘सानो उमेरका महिला ड्रग्स र उमेर छिप्पिएकाहरु रक्सीको कुलतमा फसेको पाइन्छ ।’ बिर्तामोडमा मात्र अहिलेपनि सयौं महिला ड्रग्सको कुलतमा फसेको कटुवालले बताइन् ।

यो सुधार गृहमा नेपाली मात्र होइन, भारतका केही शहरबाट समेत उपचारका लागि आउने गरेको कटुवालले बताइन् । भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी तथा कोशी र मधेस प्रदेशका दुब्र्यसनी महिलाले यहाँ उपचार गराइरहेको उनको भनाई छ । भारतको सिक्किमका ५ जना दुब्र्यसनी  उपचारपछि निको भएर घर फर्किसकेको जानकारी उनले दिइन् । हाल त्यहाँ अरु ५ जना भारतीयसहित ४३ जना उपचार गराइरहेको उनले बताइन् ।

लागू औषध दुब्र्यसनमा नेपालको मध्यमवर्गीय परिवारका सदस्य बढी फसेको पाइएको कटुवालले बताइन् । खासगरी महिलाहरुमा दुब्र्यसनको सञ्जाल तिब्र रुपमा फैलिरहेको पाइएको छ । सो सुधारगृहमा गतबर्ष २० जनाभन्दा कम दुब्र्यसनी उपचारका लागि आएको भएपनि यसबर्ष ४३ जना पुगेका छन् । अझ साँझपख शहरका गल्लीमा हेर्ने हो भने हजारौंको संख्यामा दुब्र्यसनी भेटिने कटुवालको अनुभव छ ।

सुधार गृहमा हाल ७ जनालाई निशुल्क राखिएको छ । १४ जनाले ५० प्रतिशत शुल्क दिएका छन् । अरुलाई पनि तोकिएको रकममा सहुलियत गरिएको छ । ९० दिनको बसाईमा ४५ हजार तोकिएको शुल्क एकजनासँग पनि पुरा नलिएको अर्का सञ्चालक मञ्जु सिटौलाले बताइन् ।

सञ्चालक सिटौलाका अनुसार केहीदिन अघि बिर्तामोड नगरपालिकाले ११ जना दुब्र्यसनीलाई प्रहरीको सहयोगमा सुधार केन्द्रमा पठाएको थियो । त्यसबापतको लाग्ने शुल्क नगरपालिकाले तिर्ने छाँटकाँट नदेखाएको सिटौला बताउँछिन् । बिर्तामोड नगरपालिका–५ मा भाडाको घरमा सो सुधार केन्द्र सञ्चालन भइरहेको छ ।

रोचक कुरा त के छ भने, सुधार केन्द्र रहेको घर बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाईँको हो । नगरपालिकाबाटै सिफारिस गरिएका दुब्र्यसनीलाई पनि त्यही राखिएको छ । तर, नगरपालिकाले न उनीहरुले तिर्नुपर्ने शुल्क तिरिदिएको छ, न कुनै राहत तथा अनुदान दिएको छ । सुधार केन्द्रमा राखिएका महिला दुब्र्यसनीलाई खानका लागि चामल मात्र पठाइदिए पनि हुन्थ्यो भन्ने सञ्चालकद्धयको आग्रह छ ।

झण्डै ५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो सुधार केन्द्रमा दुब्र्यसनीलाई गर्नुपर्ने सबै खालको उपचारको बिधि अपनाइने कटुवालले बताइन् । लामो समय उनी लागु औषध दुब्र्यसनको क्षेत्रमा काम गरेकी कटुवालको काउन्सिलिङपछि दुब्र्यसनमा फसेका युवा युवतीले नयाँ जिवन शुरु गरेका छन् ।