झुलन रेग्मी/

झापा । देशभर नयाँ मिचाहा प्रजातिको उल्टा काँडा झार तीब्र रुपमा फैलिरहेको एक अध्ययनले देखाएको छ । फरेस्ट एक्सन नेपालले हालै गरेको स्थलगत अध्ययनबाट पशुका लागि हानिकारक मानिएको वनस्पति उल्टा काँडा ठूलो क्षेत्रमा फैलिए पछि नियन्त्रण चुनौतीपूर्ण हुने चेतावनी पनि दिएको छ ।

फरेस्ट एक्सन नेपालले डिभिजन वन कार्यालय झापा, सामुदायिक वन उपभोक्ता महासंघ र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको सहकार्यमा मेचीनगरमा स्थलगत अध्ययन गरेको थियो । ६ जनाको प्राविधिक टोलीले १५ वटै वडामा अध्ययन गर्दा हडियाँ खोला, धुलाबारी मोड पश्चिम, मागुरमाडी वन उपभोक्ता समूह वीट नं. १ क्षेत्रमा उल्टा काँडा अधिक रहेको जनाएको छ । मेचीनगर–९ मा अध्ययन टोलीमा सहभागी जानुका ओलीले उल्टो काँडा जताततै फैलिरहेको बताइन् ।

के हो त उल्टा काँडा ?

उल्टा काँडा झार एक बहुवर्षीय मिचाहा प्रजाति हो । यो उष्ण प्रदेशीय क्षेत्र ( विशेषगरी मध्य र दक्षिण अमेरिका) र क्यारोवियन क्षेत्रको रैथाने वनस्पति हो । उल्टा काँडा झार लगभग २ वर्ष अघि मात्र नेपालमा पहिचान भएको नयाँ मिचाहा प्रजाति हो । यो नेपालको पूर्वी क्षेत्रमा मात्र फैलिएको छ भने पश्चिमी क्षेत्रमा फैलने क्रम जारी छ । नेपालमा कहाँबाट कसरी फैलियो भन्ने कुराको यकिन तथ्यांक नभएको विज्ञ मुना भट्टराई बताउँछिन् ।

नेपालमा काँडा हुने र नहुने गरी दुई प्रजातिको उल्टा काँडा भेटिएको तथ्यांक रहेको छ । यसको बोट झ्वाट्ट हेर्दा अरेली काँडाको जस्तो तर पात भने लज्जावतीको जस्तो देखिन्छ । यो लहरा एवम् झाडीको रुपमा तीब्र गतिमा फैलिन्छ । खोलाको किनार, बगर, खुल्ला ठाउँ, घनत्व पातलो भएको जंगल, सडकको छेउछाउ र ग्रावेल भएको बाटोमा बढी मात्रामा देख्न सकिन्छ ।

साथै, खेतबारीमा समेत प्रवेश गर्न थालिसकेको स्थिति छ । उल्टा काँडाले खेतीबाली, वन क्षेत्र बाटोघाटो, खुल्ला मैदान चरन क्षेत्र आदिमा नकारात्मक असर पु¥याउन थालिसकेको छ । यो काँडा फैलिएको क्षेत्रमा मानिस तथा जनावरको आवतजावत त परै जाओस् प्रवेश गर्न समेत नसकिने स्थिति छ ।

यो वनस्पतिमा मिमोसिन भन्ने विषालु रसायन हुने भएकाले पशु चौपायको लागि घातक सिद्घ छ । यो वनस्पतिमा पशु लगेर चराउने तथा घाँस काटेर लगी हालिदिनाले झापा र मोरङमा लगभग १ हजार भन्दा बढी पशु चौपायको मृत्यु भइसकेको छ । यसको काण्डमा घोप्टो परेको काँडा र मसिनो झुस हुन्छ । जुन मानिसको हातखुट्टा र शरीरमा बिझेमा चिलाउने, पोल्ने, फोका आउने र घाउ समेत हुने गर्दछ ।

त्यसैले यो उल्टा काँडा झार कहीँ कतै देखिएमा तुरुन्त नियन्त्रणको उपाय गरी जस्तै (उखल्ने, जलाउने) मास्ने कार्य गर्नु पर्दछ । यसलाई कहिल्यै पनि नांगो हातले छुने–चलाउने गर्नु हुँदैन । पशु चौपायलाई खुवाउने वा चराउने गर्नु हुँदैन । सुरुवाती पहिचानको अवस्थामा त यसको प्रभाव यतिको खतरनाक देखिन्छ भने दिर्घकालमा के होला सबैले बेलैमा सोच्नु पर्ने समय आएको छ ।

यसैबीच, हानिकारक उल्टा काँडा झार नियन्त्रणका विषयमा मेचीनगरमा सरोकारवालासँग छलफल गरिएको छ । फरेस्ट एक्सन नेपालको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले विषालु वनस्पतिको पहिचान गरी त्यसलाई व्यवस्थापन गर्न लागि पर्ने बताए ।

‘उल्टा काँडा विषालु हँुदोरहेछ, किसानहरुले यो कुरा भनिरहनु भएको छ,’ उनले भने, ‘यो हानिकारक झार नियन्त्रण गर्न योजना बनाएर तुरुन्तै अघि बढ्नेछौं ।’ कार्यक्रममा नगर उपप्रमुख मीना उप्रेती, डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, जिल्ला वन उपभोक्ता महासंघ अध्यक्ष वेदप्रकाश भण्डारी, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति संगीता थापा, वडाध्यक्षहरु दिपक बराल, कञ्चन तामाङ, हर्क बस्नेत लगायतले उल्टा काँडा नियन्त्रणका विषयमा आफ्ना धारणा राखेका थिए ।

उल्टा काँडा नियन्त्रणका विषयमा छलफल गर्न बोलाइएको उक्त कार्यक्रममा १५ वटै वडाध्यक्षलाई निमन्त्रणा गरिएको थियो । तर, तीनजना वडाध्यक्ष बाहेक अरु कार्यक्रममा उपस्थित भएनन् । कार्यक्रमको गाम्भीरता बुझ्न नसक्दा वडा–वडामा नियन्त्रणका अभियान सञ्चालन गर्न चुनौती थपिएको छ । कमसेकम वडाध्यक्षहरु उपस्थित भएर किसानलाई बुझाउन सकेको भए नियन्त्रण गर्न सजिलो हुने आयोजकको भनाई छ ।