बिर्तामोड । सहारा नेपालद्धारा सञ्चालित बिश्वास परियोजना कोशी प्रदेशका तीन जिल्लामा प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ । उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृ शिशु स्याहार र अपाङगता भएका व्यक्तिहरुको स्वास्थ्य सुधारमा काम गर्दै आएको परियोजना सञ्चालनको दुई बर्षमा यसको प्रभाव देखिन थालेको हो । 

फेयरमेड फाउण्डेसन नेपासँगको साझेदारीमा झापा, मोरङ र सुनसरीमा परियोजना सञ्चालन भइरहेको छ । स्थानीय स्वास्थ्य प्रणालीलाई सुदृढ पार्दै समुदायलाई परिचालन गरी नागरिकको स्वास्थ्य सुधार गर्ने मुख्य लक्ष्य परियोजनाको रहेको छ । 

ग्रामिण भेगका बिपन्न नागरिकको स्वास्थ्यप्रतिको अधिकार स्थापित गर्नका लागि चेतनामुलक कार्य अघि बढाइएको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले जानकारी दिए । बिभिन्न १० प्रकारका रोगहरुको न्युनिकरणका निम्ति नेपाल सरकारले अघि सारेको नीति अनुसार सहकार्य गर्दै आएको उनले बताए । 

कुष्ठरोग, हात्तिपाईले, जुका, डेंगी, कालाजार, सर्पदंश, रेबिज, लुतो र फित्तेजुकाको जोखिमलाई कम गर्न फोकस क्षेत्र घोषणा गरी कार्य गर्दै आएको जनाइएको छ । कार्यक्रमका फोकल पर्सन पवनकुमार राईले परियोजना शुरु भएको दुई बर्षमा नै प्रभावकारिता देखिन थालेको दावी गरे । चार बर्षसम्म सञ्चालन हुने परियोजना अरु चार बर्ष थपका लागि प्रक्रिया अघि बढेको छ । 

सामाजिक संस्कार, लाज र डरका कारण कतिपय रोगहरु लुकाउने गर्नाले समस्या जटिल बन्ने गरेको छ । झापा गाउँपालिकामा अहिले अस्पतालमा सुत्केरी गराउन मुस्लिम समुदायका महिलाहरु आउने थालेका छन् । यसलाई परियोजनाको उपलब्धीका रुपमा लिन सकिने सहारा नेपालका परियाेजना संयाेजक मात्रिका सुवेदीले बताए । सहाराले बर्थिङ सेन्टर सञ्चालनका लागि करीब ८ लाख मुल्य बराबरको उपकरण प्रदान गरेपछि त्यहाँ सुत्केरी गराउन आउनेको संख्या बढेको हो । 

स्वास्थ्य क्षेत्रको सुधारमा १० प्रकारका रोगसँग सम्बन्धित रहेर सरसफाई, जनचेतनामुलक कार्य लगायतका गतिविधि सञ्चालन गर्न २२ करोड रकम परियोजनालाई प्राप्त भएको जनाइएको छ ।