झापा । कुनै बेला झापा ११ फुटबल टिम भन्ने बित्तिकै नेपालका चर्चित ए डिभिजन क्लबहरु पनि झस्कने गर्दथे । झापा–११ सहभागी प्रतियोगितामा झापालाई हराउन ठुला टिमलाई निक्कै चुनौती हुने गथ्र्याे । केही बर्ष पहिले मात्र काठमाण्डौ र बाहिर हुने प्रतियोगिताको सबैभन्दा धेरै उपाधि जित्ने रेकर्ड झापा–११ ले बनाएकाे थियो । 

झापा–११ को उत्कृष्ठ प्रदर्शनका कारण खेलाडी उत्पादन र संरक्षणमा जोड दिदैं झापा गोल्डकपको शुरुवात गरिएको थियो । झापा गोल्डकपको छैटौं संस्करणमा आइपुग्दा टिम नै तहस–नहस बनेको छ । यसबर्ष पनि खेलाडी उत्पादन र संरक्षणको निम्ति भन्दै फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडको डोमालाल रंगशालामा प्रतियोगिता हुँदैछ । 

प्रत्येक बर्ष हुँदै आएको गोल्डकप केही बर्षदेखि नियमित हुन छाडेको छ । झापा गोल्डकपका अध्यक्ष बिनोद वस्नेतकै भनाईमा काेराेना संक्रमण र त्यसपछि भएकाे आर्थिक मन्दीका कारण गोल्डकप नियमित हुन नसकेको हो । सोमबार गोल्डकपको तयारीका सम्बन्धमा पत्रकार सम्मेलन गर्दै बस्नेतले अघिल्ला संस्करणमा झै यसबर्ष पनि उद्योगी व्यवसायीको साथ लिएर गोल्डकप सम्पन्न गर्ने प्रतिबद्धता जनाए । 

बस्नेतले यस पटक १ करोड ४० लाख रुपैंयाँ खर्च हुने अनुमान गरेको बताए । प्रतियोगिताबाट रकम बचत गरी १ करोड बढीको अक्षयकोष निर्माण गर्ने लक्ष्य रहेको उल्लेख उनले गरे । उनले खेलाडीको उत्पादन र संरक्षणमा प्रतिबद्धता जाहेर गरिरंहँदा उनीसँगै मञ्चमा रहेका गोल्डकपका सदस्यहरुको भने मत बाझिएको थियो । 

मञ्चमा रहेका झापा गोल्डकपका पूर्व अध्यक्ष एवं झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले झापाकै केही व्याक्तिको निषेधका कारण झापा–११ ले प्रतियोगितामा भाग लिन नपाइरहेको आरोप लगाए । यस पटक पनि झापा–११ ले झापा गोल्डकपमा सहभागिता जनाउनेमै उनले शंका व्यक्त गरे । उनले भने–‘झापा–११ फुटबल क्लबको नाम सन्ने बित्तिकै निषेध गर्न खोजिन्छ, यो खेल प्रतिको अपराध हो ।’

त्यसैगरी मञ्चमै रहेका झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ ले धmापा–११ व्यक्तिगतरुपमा सञ्चालन भएका कारण टिमले सफलता प्राप्त गर्न नसकेको आरोप लगाए । अध्यक्ष आलेले खेलाडी उत्पादन र संरक्षणमा के गर्न सकिन्छ भन्ने योजना अघि बढाउने धारणा भने राख्न सकेनन् । 

देशमै सबैभन्दा बढी फुटबलका गतिविधि हुने जिल्लाको पहिचान बनाएको झापा पछिल्ला बर्षहरुमा सरोकारवालाहरुको व्यक्तिगत स्वार्थका कारण खेलाडी मारमा पर्दै गएका छन् । केही बर्ष अगाडिसम्म नेपाली राष्ट्रिय टिममा आधा खेलाडी झापाली हुने गरेका थिए । अहिले त्यो संख्या नगन्य छन् । झापाली फुटबल राजनीतिको शिकार खेलाडी भएकोमा फुटबल समर्थक निरास बनेका छन् । 

बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा हुने प्रतियोगितामा नेपालका ७ र तीनवटा बिदेशी टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ । २०७२ सालबाट सुरु भएको गोल्डकपले कोरोना संक्रमणका कारण निरन्तरता पाउन सकेको थिएन ।  

झापा गोल्डकपको यो संस्करणमा पुरस्कारको राशीसमेत बृद्धि गरेको छ । प्रतियोगिताको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिने आयोजक समितिका अध्यक्ष बस्नेतले जानकारी दिए । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् ।

छैटौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका एकजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिनेछ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिने जनाइएको छ ।

अघिल्लो संस्करणको आयोजनाबाट झापा गोल्डकपले ९८ लाख रुपैयाँ बैंक मौज्दात राखेको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । यो पटकको प्रतियोगिताबाट पनि रकम बचत गरेर झापा ११ का खेलाडीको स्तरबृद्धिमा खर्च गरिने तयारी रहेको गिरीले बताए ।