अनिता शर्मा

विर्तामोड । विर्तामोड उद्योग वाणिज्य संघको फागनु १४ गते हुने चुनावमा  नेपाली कांग्रेस एक्लिएको छ । कांग्रेस इतरका राजनीतिक दलहरु प्यानल बनाएर निर्वाचनमा लागिसक्दा पनि कांग्रेसले उम्मेद्वार तय गर्न सकेको छैन ।

२०३८ सालमा स्थापना भएको बिर्तामोड वाणिज्य संघमा हालसम्म नेपाली कांग्रेस समर्थक उम्मेदवारले मात्र जित हासिल गर्दै आएका छन् । बिर्तामोडमा सक्रिय सम्पुर्ण राजनीतिक दलको घेराबन्दीका कारण यो पटक कांगेस अप्ठ्यारोमा पर्ने देखिएको छ ।

निर्वाचनमा एमाले, माओवादी केन्द्र, रास्वपा, र जसपाले केहि  दिन अघि प्यानल बनाएर निर्वाचनमा जाने निर्णय गरिसकेका थिए । बिर्तामोडमा तेस्रो ठूलो व्यवसायिक मत  रहेको राप्रपा पनि सो गठबन्धनमा सामेल हुदा कांग्रेस अब एक्लो भएको छ । यो निर्वाचनमा कांग्रेसलाई विरासत जोगाउने चुनौती थपिएको कतिपय विश्लेषकको अनुमान छ ।

माग गरे बमोजिमको पद दिन कांग्रेसले नमानेका कारण राप्रपा एमाले नेतृत्वको प्यानलमा मिसिएको हो । कांग्रेस स्रोतका अनुसार राप्रपाले महासचिव र दुई सदस्य मागेको थियो । सो पद राप्रपालाई दिंदा पार्टीभित्रको सन्तुलनमा असर पर्ने भएको हुनाले कुरा नमिलेको हो ।

यता, एमाले, राप्रपा, माओवादी, जसपा संलग्न प्यानलले भने पदाधिकारीको लगभग टुङगो लगाईसकेको छ । 'स्वतन्त्र व्यबसायिक प्यानल' को अध्यक्षमा अर्जुन मैनाली, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल, सचिवमा ओमप्रकाश श्रेष्ठ लगायतको उम्मेद्वारी रहने भएको छ ।

विर्तामोडमा दलका नेताका साथ भेला भएका उधोगी व्यवसायीले अधिकतम सहमतिका साथ अघि बढ्न कार्यदल समेत गठन गरेका छन् । कार्यदलमा एमालेबाट देवराज कार्की र सुवास भट्टराई, माओवादी केन्द्रबाट कुवेर श्रेष्ठ अरुण र जेवी जवेगु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट फणिन्द्रराज न्यौपाने र अर्जुन उप्रेती, राप्रपाबाट वेदप्रकाश अग्रवाल र रञ्जु प्याकुरेल तथा जनता समाजवादी पार्टीबाट गौरिमान राई र अभिषेक राई रहेको छन् । कार्यदलको बैठकले चाँडै उम्मेद्वार चयन गर्ने समेत सहमति गरेको छ ।

कार्यदलले राजनीतिक दल र स्वतन्त्र व्यवसायीहरुसँग समन्वय गरी अधिकतम् सहमतिका साथ विर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व निर्वाचित गराउन सहयोग गर्ने वताएको छ ।

यो प्यानलमा एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने बिचार समुहका व्यवसायी भएबाट कांग्रेस हौसिएको छ । एमाले र माओवादीमा त्यो समस्या देखिएको हो । भर्खरै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा एमालेबाट पाएको धोकाबाट राप्रपा पनि शसंकित छ । त्यसकारण यो प्यानलको मत एकत्रित हुन नसक्ने अनुमान गर्न सकिन्छ ।

कांग्रेस भित्र जकडिएको गुटगत राजनीतिको असर प्रतिष्ठाका रुपमा हेरिएको यो निर्वाचनमा देखिने सम्भावना छ । स्थानीय तहको निर्वाचनमा बिर्तामोडमा एक समुहले अर्को समुहमाथि गर्दै आएको असहयोग र निषेधले वाणिज्य संघको यो निर्वाचनमा असर पर्ने देखिन्छ । गुटगत सन्तुलनकै कारणले पनि उम्मेदवारी तय गर्न नसकेको कांग्रेसले निर्वाचनका गतिविधि अघि बढाउन सकेको छैन ।