बिर्तामाेड । बिर्तामाेडमा मुख्य कार्यालय रहेकाे हाम्राे नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्थापनाकाे १४ औं बर्ष प्रवेश गरेकाे छ ।
संस्थाले आज बिर्तामाेडमा एक कार्यक्रमकाे आयाेजना गरेर हालसम्मकाे आर्थिक बिवरण, सदस्य संख्या, सेवा केन्द्रहरुकाे अवस्था सार्वजनिक गर्दै कर्मचारी तथा एसइइमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छाेरा छाेरीलाई सम्मान तथा पुरस्कार प्रदान गरेकाे छ ।
झापा, मोरङ र इलाम जिल्लामा सेवा सञ्चालन गर्ने अनुमति पाएकाे संस्थाले तीन जिल्लाका बिभिन्न शहरमा ३१ वटा सेवाकेन्द्र सञ्चालनमा ल्याएकाे छ । संस्थामा हालसम्म ३९ हजार ११० जना सदस्य रहेका छन भने २५६ जना कर्मचारी कार्यारत रहेकाे पाइएकाे छ ।
संस्थाका कार्यकारी प्रमुख सरोज दाहालका अनुसार गत आर्थिक बर्षमा हाम्रो नेपालले २ अर्ब ४० करोडको कारोबार गरेको छ । संस्थाले १ अर्ब ७२ करोड बचत संकलन गरेको र १ अर्ब ९५ करोड ऋण लगानी गरेको दाहालले बताए । सो कारोबारबाट संस्थाले ९२ लाख सञ्चालन नाफा आर्जन गरेको संस्थाले जनाएको छ । हाल संस्थाको नाममा ४ कठ्ठा १ धुर जमिनसमेत रहेको छ ।
कार्यक्रममा २०८१ सालकाे एसइई परीक्षामा उत्कृष्ट भएका शेयर सदस्यका छाेरा छाेरी सागर राउत र सजल तामाङलाई जनही ५ हजार रुपैंयाँ नगदसहित पुरस्कृत गरिएकाे थियाे ।
यसैगरी संस्थामा १० बर्षदेखि निरन्तर कार्यारत कर्मचारीहरु प्रेम प्रसाद ओली, धनकुमार राजबशी, डिल्लीमाया बिष्ट, अम्बिका धौराली, याम नारायण अधिकारी, बालकुमारी खतिवडा, अनिता शिवाकोटी, बालिका खनाल, सुजन बुढाथोकी र खगेन्द्र कार्कीलाई नगदसहित सम्मान गरिएकाे थियाे ।
संस्थाले यसबर्ष ९२ लाख रुपैंयाँ मुनाफा आर्जन गरेकाे बताइएकाे छ । १३ औं बर्ष पुरा गरेकाे अवसरमा संस्थाले माेवाइल बैंकिङ सेवा समेत सञ्चालनमा ल्याएकाे छ ।
कार्यक्रममा सहभागीहरुलाई संस्थाका उपाध्यक्ष राजेन्द्र गौतमले स्वागत गरेका थिए भने सचिव विश्वेश्वर प्रसाद लामिछानेले सञ्चालन गरेका थिए ।


















