बिर्तामोड । बिर्तामोडकाे चिल्ड्रेन अस्पतालमा उपचार पश्चात घर पुर्याएको एक बिरामीको बिषयलाई लिएर सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेपछि अस्पताल प्रशासनले त्यसको खण्डन गरेको छ ।

अर्जुनधारा नगरपालिका-५ चाँदनी चोक निवासी दिपा गिरीको नौ महिनाको शिशुमा देखिएको छारे रोगको बिषयमा बिरामीका हजुरबुवा रामबहादुर गिरीले भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । भिडियाेमा गिरीले अस्पतालकाे लापरवाहीले नातीकाे अवस्था असामान्य बनेकाे टिप्पणी गरेका छन् । गिरीले ‘अस्पतालबाट निकालेर ल्याउँदा ठीकै रहेको आफ्‌नो नानी राती नौ बजेपछि यस्तो भयो ‘। धामीलाई देखाउँदा अस्पताल लगेर सुई लगाएका कारण अब यो नानी जाति हुँदैन भनेर भन्यो‘’ भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अस्पतालले त्यसको खण्डन गरेको छ ।

अस्पतालमा आयोजित पत्रकार भेटघाटमा अस्पतालकी अध्यक्ष लीलादेवि मैनालीले अस्पतालले जटिल अवस्थामा ल्याइएको बच्चा निको बनाएर पठाइएको तर घर पुगेपछि बच्चालाई समस्या देखिए तत्काल अस्पताल ल्याउनुपर्नेमा धामीझाँक्रीको अन्धविश्वासमा परेर डाक्टरको मनोबल गिराउनुका साथै अस्पतालको विश्वसनीयतामाथि समेत आँच आउने गरी प्रचार गरिनु दुखद् भएको बताइन् । उनले जटिल अवस्थामा ल्याइएको बिरामीलाई लामो समय अस्पतालमा उपचार राखेर उपचार गरिनु स्वभाविक भएको बताउँदै पछिल्लो ५ दिनसम्म अब्जरभेसनमा राखेर हेर्दा बच्चालाई पुनः समस्या नदोहोरिएपछि, आमाले आफै बच्चालाई खुवाउन सक्ने भएपछि र बच्चाको टाउकोको ईईजी जाँच गराएर औषधी थपघट वा मात्रा मिलाउनुपर्ने सल्लाह दिएर डिस्चार्ज गरिएको बताइन् ।

बच्चाको बारेमा सामाजिक सञ्जालबाट जानकारी पाएपश्चात अस्पताल व्यवस्थापन र डाक्टरको टीम बिरामीको घरमै गएर अवस्था बुझेको, बिरामीको अवस्था जटिल बन्दै गएको पाएपछि अस्पतालमा राखेर उपचार गर्न सुझाव दिएको र आफुहरुले त्यसको लागि सहयोग गर्ने बताएपनि अभिभावकले नमानेको अध्यक्ष मैनालीले बताइन् । उनले अभिभावकलाई बच्चाको उपचार गर्नुपर्ने र त्यसमा अस्पतालले सहजीकरण गरिदिने बताउँदा बिरामीको अभिभावकले उपचार गर्न नलैजाने बरु उपचारमा खर्च लागेको ४ लाख ८० हजार रुपैँया मागेको भन्दै आपत्ति जनाइन् । उनले बिरामीको अभिभावकले भिडियोमा भनेजस्तो ७ लाख रुपैँया अस्पतालमा नबुझाएको बताइन् । अस्पतालसँग बिरामीको अभिभावकले बुझाएको रकमको बिल सुरक्षित रहेको र अस्पतालले ५० हजार रुपैँयाभन्दा बढी छुट दिइएको जानकारी दिइन् ।

यता बिरामीको उपचारमा संलग्न बालरोग विशेषज्ञ डा‍‍. रुपक आचार्यले साउन २ गते विहान साढे ५ बजे जटिल अवस्थामा बच्चालाई अभिभावकले अस्पताल ल्याएको, बच्चालाई छारे रोग पटक पटक दोहोरिइरहेको अवस्थामा प्रोटोकल अनुसार उपचार शुरु गरिएको, उपचारको दौरान बच्चाको स्वास्थ्य अवस्थाको बिषयमा पटक पटक अभिभावकलाई जानकारी गराइएको, त्यस रोगमा गर्नुपर्ने उपचारमा कुनै किसिमको कमजोरी नगरिएको र बच्चालाई सामान्य अवस्थामा फर्काएर  साउन १९ गते घर पठाएको बताए ।

दश लाख मानिसमा ४२ जनामा देखिने उक्त रोग भएका बच्चाहरुको उपचारमा अस्पतालले गर्नुपर्ने सबै प्रोटोकल पुरा गरेको, बच्चाको टाउको उमेर अनुसार सानो भएकोले ईईजी गरेर त्यसको रिपोर्ट हेरेर थप औषधीहरु निर्धारण गर्नुपर्ने सल्लाह दिँदा अभिभावकले ईईजी गर्न नमानेको बताए । त्यस किसिमको बिरामीलाई उचित मात्रामा औषधि समयमै खुवाउनु पर्ने, सिजर शतप्रतिशत ठीक नहुने र एक पटक ठीक भएपनि पुनः दोहोरिन सक्ने सम्भावना हुने उनले बताए ।

अस्पतालबाट बिरामीलाई डिस्चार्ज गर्ने समयमा बच्चाको आमाले स्वतस्फुर्त खुशी व्यक्त गरेको तर घर पुगेर औषधीको मात्रा नमिलेको कारण पुनः समस्या देखिएको हुन सक्ने डा‍. आचार्यको भनाई छ । उनले बिरामीलाई धामीझाँक्री लगाउनुको सट्टा अस्पतालमा उपचार गर्नुपर्ने सुझाव बताए ।