बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तामोड संजीवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेड पहिलो वर्ष नै नाफामा गएको छ । कम्पनिले स्थापना भएको पहिलो वर्ष १७ लाख ५ हजार ६५७ रुपैया खुद नाफा कमाएको हो ।
कम्पनीले शुक्रबार बिर्तामोडमा प्रथम साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै कारोबारको जानकारी गराएको छ । बिर्तामोड संजीवनीले २०८१ असोज २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट कारोबार गर्ने इजाजत लिएको थियो । कारोबारको करिब ७ महिनाको अवधिमा सो नाफा कमाउन सफल भएको कम्पनीका अध्यक्ष यामकुमार चुडालले जानकारी दिए ।
११४ जना शेयर सदस्यहरुबाट ५ करोड २८ लाख चुक्ता पूँजी सङ्कलन गरी शुरू भएको कम्पनीमा हाल १७८ जना सदस्य पुगेको अध्यक्ष चुडालले बताए । पछिल्लो समय अन्य मानिसहरू सदस्य बन्न लालायित रहेको अध्यक्ष चुडालको भनाई छ ।
अध्यक्ष चुडालका अनुसार चालू आवमा कम्पनीको चुक्ता पूँजी ७ करोड ५० लाख पुर्याउने उद्धेश्य रहेको छ । कम्पनीको अधिकृत पूँजी २० करोड रहेको छ ।
कम्पनीले बैंक तथा वित्तिय संस्था साथै बैंक तथा विभिन्न कम्पनीबाट निष्काशित शेयर एवं अन्य मुनाफामूलक क्षेत्रमा लगानी गर्ने छ । यसैगरी जग्गा, जमीन हाउजिङ्ग परियोजना अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्सहरुमा कम्पनीको लगानी रहने छ ।
भौतिक पूर्वाधार निर्माण, ठेक्का पट्टा, जलविद्युत परियोजना एवं विकासका परियोजनाहरुमा तथा चल अचल सम्पत्तिको व्यवस्थापन गर्न सो सँग सम्बन्धित अध्ययन अनुसन्धान, तालिम, गोष्ठी, सेमिनार कम्पनीले सञ्चालन गर्ने छ ।
आयात, निर्यात, शिक्षा, स्वास्थ्य, हस्तकला, सुरक्षा, अनुसन्धान, बजार प्रवर्द्धन लगायतका क्षेत्रमा लगानी गरि व्यवस्थापन जिम्मामा लिई कार्य गर्ने बताईएको छ ।
आधुनिक कृषि संग सम्बन्धित क्षेत्र डेरी उद्योग, जडीबुट्टी उद्योग, कृर्षि फर्म, कृषि औजार, मल कारखाना, विउ विजन उत्पादक कम्पनी/फर्म, नेपाली कागज उद्योग, चिया खेती तथा चिया काराखाना, कृषकहरुले उत्पादन गरेको बस्तुको समय अनुकुल सही बजार मुल्य कायम गराउन कोल्ड स्टोरेज संचालन गर्ने लगायतको उदेेश्य रहेको छ ।
कम्पनीले विभिन्न संघ, संस्था, कम्पनी तथा अन्य संगठित संस्थाहरुले माग गर्ने बोलपत्रमा सहभागी भई ठेक्का पट्टाको कार्यसमेत गर्ने छ ।



















