झापा । सामाजिक सञ्जाल तथा सञ्चाारमाध्यममा चर्काे आलाेचना भएपछि श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न लागेका 'दलित अभियन्ता' खगेन्द्र सुनारकाे शपथ ग्रहण नहुने भएकाे छ ।
सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भए लगत्तै प्रधानमन्त्री कार्यालयले यसबारे स्पष्टीकरण दिएको हाे । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले सुनार मन्त्रीको लिस्टमा समावेश नै नरहेको बताएका छन् । यो दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।
यसअघि खगेन्द्र सुनारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको शपथ लिने तयारी भइरहेको समाचारहरू आएका थिए । तर, शपथ ग्रहणको पूर्व सन्ध्यामा सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएपछि उनको सम्भावित नियुक्ति विवादमा तानिएको थियो ।
दैलेखको नारायण नगरपालिका–२ घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेको कसुरमा मुद्दा दर्ता भएको थियो । यो मुद्दा गुर्भाकोट नागरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा.सोजन सापकोटाको जाहेरीको आधारमा अगाडि बढेको थियो ।
अदालतको अभिलेख अनुसार २०८१ असार १४ मा दायर भएको उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु’ भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो ।


















