बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै पीडितलाई क्षतिपूर्ति प्रदान गर्नुपर्ने माग गरेकाे छ । 

बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै एमाले बिर्तामोड नगर कमिटीले नेताका घरहरु तोडफोड, लुटपाट र आगजनी गर्नेहरुको पहिचान भइसकेकोले कारबाही ढिलाई नगर्न सरकारसँग माग गरेको छ । सरकारले कारवाही गर्न गरेकाे ढिलाईले दण्डहिनताले प्रश्रय पाएकाे भन्दै अध्यक्ष सुवास भट्टराईले आन्दाेलनका नाममा भएका पीडितकाे धैर्यताकाे बाँध टुट्न नहुने कुरामा सजग रहन चेतावनी दिएका छन् । 

पत्रकार सम्मेलन मार्फत जेनजी आन्दोलनमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति नष्ट हुनु अपराधको दायरा भित्र पर्ने भन्दै दोषीको पहिचान गरी कानूनी कारबाही गर्न आग्रह गरिएको हो ।अध्यक्ष सुवास भट्टराईले भदौ २३ र २४ गते बिर्तामोड क्षेत्रमा भएको घटनामा पार्टी नेतासहित स्थानीय प्रतिनिधि, सरकारी कार्यालय, दलका कार्यालयहरु लगायतका संरचनामा आगजनी तथा लुटपाट भएको विवरण सार्वजनिक गर्दै सो घटनामा संलग्नहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

बिर्तामोड नगरपालिकाको भवन, बिर्तामोड नगरपालिकाका ८ वटा वडा कार्यालय, नेपाल टेलिकम, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय अनारमनी, भाटभटेनी सुपर स्टोर लगायतका संरचनामा तोडफोड र आगजनी र लुटपाट भएकाले ठूलो आर्थिक क्षति पुगेको उल्लेख गरिएको छ ।

त्यस्तै, पार्टी नगर कमिटी अध्यक्ष सुवास भट्टराई, पूर्वनगर प्रमुख ध्रुवकुमार शिवाकोटी, एकराज कार्की, प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडाध्यक्ष मदन बुढाथोकी लगायतको घर तथा गाडीमा समेत आगजनी र लुटपाट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा पूर्वप्रधानन्यायाधीश नेतृत्वको ‘असंवैधानिक सरकार’ले संसदले पारित गरेको बजेट रोकेपछि बिर्तामोडमा विनियोजित करिब २८ करोड रुपैयाँ बराबरका विभिन्न सडक र पूर्वाधार योजनाहरू ठप्प परेको बताइएको छ । रोकिएका योजनाहरू तत्काल कार्यान्वयन गर्दै ठेक्का प्रक्रिया सुरु गर्न सरकारले कदम चाल्नुपर्ने माग एमालेको छ ।