बिर्तामोड । प्रतिनिधि सभाको निर्वाचन नजिकिंदै गर्दा पुर्वमा पहिचानको आन्दोलन गरिरहेका चारवटा पार्टीबिच एकता भएको छ ।
झापाको बिर्तामोडमा बुधबार एक समारोहको आयोजना गरेर चारवटा पार्टीले एकता भएको घोषणा गरेका हुन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल, कोचिला संघर्ष समिति, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) र संघीय लिम्बुवान पार्टी नेपालबिच एकता भएको हो ।
एकतापछि राजेन्द्र महतोले नेतृत्व गरेको 'राष्ट्रिय मुक्ति पार्टी नेपाल' को नाममा पार्टी समाहित गर्ने सहमति भएको छ ।
कार्यक्रममा कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजबंशी, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष मित्र लिङदेन, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर) का दोस्रो बरियताका नेता सञ्जुहाङ पालुङवा र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोको उपस्थिति रहेको थियो ।
नवगठित पार्टीको अध्षक्ष महतो रहनेछन भने बरिष्ठ उपाध्यक्ष सञ्जुहाङ पालुङवा हुनेछन । त्यसैगरी क्रमश लिङदेन र राजवंशी पार्टीको उपाध्यक्ष भएका छन् ।
एकतापछि तत्काललाई राष्ट्रिय मुक्ति पार्टीको बिधान कार्यान्वयनमा ल्याउने योजना रहेको उपाध्यक्ष लिङदेेनले जानकारी दिए। पार्टीको विशेष राष्ट्रिय सम्मेलनमार्फत नाम, चिन्ह र झण्डा लगायत संशोधन गरिने उनले बताए । चारवटै पार्टीका कमिटीमा रहेका पदाधिकारी र सदस्यहरुलाई सहमतिको आधारमा नयाँ पार्टीमा जिम्मेवारी दिइने बताइएको छ ।
कार्यक्रममा बोल्दै बरिस्ठ नेता पालुङवाले फागुन २१ गते निर्वाचन हुन नसक्ने ठोकुवा गरे । उनले यो सरकारले आन्दोलनको म्याण्डेड बिर्सेको हुनाले निर्वाचन हुन नसक्ने बताए ।
फागुन २१ मा निर्वाचन हुन नसक्दा सांसद पुनस्थापना हुने बताए । धरानका मेयरसमेत रहेका हर्कराज राईको नाम नै लिएर उनले त्यस्ता पार्टीले ४,५ वटा सिट लिएर जाने र त्यसले झन अस्थिरता उत्पन्न गर्ने उनले दावी उनको थियो ।



















