बिर्तामोड । प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले बिरिङ पुल बनाउन नसकेको स्वीकार गरेका छन् । आफ्नो तीनबर्षे कार्यकालमा झापा क्षेत्र न २ मा गरेका विकास निर्माणको कामको फेहरिस्त प्रस्तुत गर्दै घिमिरेले पुल निर्माणमा भूमिका खेल्न नसकेको स्वीकारेका हुन् । 

सभामुख घिमिरेले प्रस्तुत गरेको बक्तब्यको १४ नम्बर बुँदामा झापा र इलामलाई जोड्ने बिरिङ पुल बनाउनका लागि बजेट ब्यवस्थापन गर्न नसकेको उल्लेख छ । गत बर्षको बाढीले बगाएको त्यस पुल निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्नेमा उनको बेवास्ताले हालसम्म अलपत्र छ । जसका कारण त्यस क्षेत्रबाट चल्ने सवारी साधनहरु बैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् । 

हाल बिपद ब्यवस्थापन अन्तर्गत त्यस पुलका लागि बजेट परेको छ । र यो ठेक्का प्रक्रियामा छ । ३५ करोडको लागतमा निर्माण हुन लागेको त्यस पुलको जस उनले अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन (नाम उल्लेख नगरी) लाई दिएका छन् । गोम्देनको पहल र तत्कालिन मन्त्री कुलमान घिसिङको समर्थनमा विपद व्यवस्थापनको बजेट त्यस पुलका लागि विनियोजन भएको छ । 

झापामा आफुले गरेको कामको ४५ बुँदे सुची सार्वजनिक गर्दै घिमिरेले सभामुख पद विकास निर्माण गर्ने कार्यकारी पद नभएको कारण ‘अपेक्षित काम हुन नसकेको’ उल्लेख गरेका छन् । उनले तीन बर्षको यस अवधिमा ३२३ वटा योजनाहरु संघीय सरकार मार्फत झापा २ मा पार्न लगाएको बताएका छन् । तीन बर्षको अवधिमा यस क्षेत्रमा ५ अर्ब ४९ करोड ९३ लाख रुपैंयाँ बजेट पार्न सफल भएको उनले बताएका छन् ।

बजेट पार्न सफल भएपनि बिगत २ बर्षको अवस्था हेर्दा, ठेक्का ननिस्किने, निस्केकोमा पनि कम मुल्यमा बिडिङ हुने, त्यसमा पनि निर्धारित समयमा सम्पन्न गर्दा बजेट फ्रिज हुने लगायतका कारणले ५० प्रतिशत मात्र बजेट खर्च भएको उनले प्रस्तुत गरेको बक्तब्यमा उल्लेख छ । चालु बर्षको बजेट सरकारले नै रोक्का गरेको कारण कार्यान्वयनको अवस्था झन कमजोर हुने उनले बताएका छन् ।