झापा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले उनलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।
उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।
ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान प्रहरीले भक्तपुरको कुटुन्जेस्थित निवासबाट पक्राउ गरिसकेको छ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।
प्रहरीले ओलीलाई पक्राउ गर्नुअघि जिल्ला अदालतबाट पक्राउ अनुमती नलिएको स्रोतले बतायो । त्यस्तो अवस्थामा जरुरी पूर्जीका आधारमा पक्राउ गरेको हो ।


















