बिर्तामोड । कन्काई नगरपालिका–३ नयाबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आज बिहान करिब ११:३० बजे बिर्तामोडबाट सुरुङ्गातर्फ आउँदै गरेको प्र.१–०१–००१ ह ८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी अटोमा सवार हल्दिबारी गाउँपालिका–३ की ६८ वर्षीया मन्जुधरी ढकाल गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि बिर्तामोडस्थित अस्पताल लगिएकोमा दिउँसो ४:३५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूमा जीवन ढकाल, हरिमाया ढकाल, भिमा ढकाल, रोजन ढकाल, प्रदीप नेपाल तथा मोटरसाइकल चालक चन्द्रबहादुर खत्री रहेका छन्। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
घटनापछि अटो चालक हल्दिबारी–३ का ४६ वर्षीय खेमराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले सवारी साधन नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
















