बिर्तामोड । झापाको बुद्धशान्ति र अर्जुनधारामा बुधबार साँझ भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।

बुद्धशान्ति गाउँपालिका–१ पहाडी चोकस्थित मेची राजमार्गमा बर्नेबाट बुधबारेतर्फ आउँदै गरेको मे ९ प ७४४३ नम्बरको मोटरसाइकलले पैदलयात्री २४ वर्षीया रिया तामाङलाई ठक्कर दिँदा उनी घाइते भएकी हुन्।

दुर्घटनामा तामाङको टाउको र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। उनको बुधबारेस्थित लिला फार्मेसीमा उपचार भइरहेको छ। मोटरसाइकल चालक ताप्लेजुङ थेचम्बु गाउँपालिका–२ का ३५ वर्षीय राजेन्द्र लिम्बु र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी अर्जुनधारा नगरपालिका–६ दास पुलस्थित बिर्तामोड–शनिश्चरे सडकखण्डमा प्र१–०१–००२ ह ८८२९ नम्बरको सिटी सफारी आफैं अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा सिटी सफारीमा सवार अर्जुनधारा–१० का ४६ वर्षीय कृष्ण बस्नेत घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको भए पनि बोल्न सक्ने अवस्थामा रहेको र मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न सिटी सफारी चालक अर्जुनधारा–९ का ६३ वर्षीय कृष्ण बराल उपचारमा संलग्न रहेका छन्। प्रहरीले सिटी सफारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।