झापा  । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानास्थित सेतिढुङ्गा खहरे खोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बुधबार बिहान करिब ५ः३० बजे कात्तिकेबाट ढुङ्गा लोड गरी वडा नम्बर १ कार्यालयतर्फ जाँदै गरेको मधेस प्रदेश ०१–००१ त २८४० नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार उकालो भिरालो कच्ची सडकमा ट्याक्टर फसेपछि निकाल्ने क्रममा ब्याक सर्दै पछाडि पल्टिएर खहरे खोलामा खसेको थियो। दुर्घटनामा ट्याक्टर चालक लिम्चुङबुङ–१ निवासी ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको छ।

ट्याक्टरका सहचालक २७ वर्षीय प्रदीप राई भने सकुशल रहेका छन्। दुर्घटनाबारे बिहान ५ः४५ बजे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी नायब निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।