झापा । झापाका बिर्तामोड, अर्जुनधारा र दमक क्षेत्रमा बुधबार भएका छुट्टाछुट्टै पाँच सवारी दुर्घटनामा बालिका, पैदलयात्री तथा चालकसहित ७ जना घाइते भएका छन्।

बिर्तामोड–भद्रपुर सडकखण्ड अन्तर्गत दृष्टि आँखा अस्पताल अगाडि साँझ ६ बजे स्कुटरलाई सिटी सफारीले ठक्कर दिँदा स्कुटर चालक बिर्तामोड–८ निवासी ६४ वर्षीय त्रिलोचन अधिकारी घाइते भएका छन्। उनलाई उपचारका लागि नगर अस्पताल बिर्तामोड पठाइएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने सिटी सफारी फरार रहेकाले खोजी भइरहेको छ।

यस्तै अर्जुनधारा–३ को आइतबारे बजार नजिक खुदुनाबारी–बेल्टार सडकखण्डमा राति साढे ९ बजे खाली बस आफैं अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय लालबहादुर लुहागुनको घरमा क्षति पुगेको छ। दुर्घटनाका क्रममा घर नजिक रहेकी उनकी १४ वर्षीया छोरी रितिका लुहागुनको दाहिने हातका दुई औंलामा चोट लागेको थियो। स्थानीय क्लिनिकमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ।

बिर्तामोड–शनिश्चरे सडकखण्ड अन्तर्गत गरुवा स्टेन क्षेत्रमा साँझ स्कुटरले बाटो काट्दै गरेकी बिर्तामोड–५ निवासी २५ वर्षीया मुना लिम्बुलाई ठक्कर दिँदा उनी घाइते भएकी छन्। टाउकोमा चोट लागेकी लिम्बुको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न स्कुटर चालक १७ वर्षीया रमला बानियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता दमक–३ स्थित भित्री सडकखण्डमा दिउँसो २ बजे अटो रिक्सा आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक लालप्रसाद नेम्वाङ, निरेन्द्रकुमारी लिम्बु र ७५ वर्षीया सुकमती लिम्बु घाइते भएका छन्। उनीहरूको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ। तीनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी दमक–७ सिरपाली चोकमा अपराह्न ४:२० बजे स्कुटरले बाटोमा खेलिरहेकी ४ वर्षीया आनन्ता मगरलाई ठक्कर दिँदा उनको अनुहारमा चोट लागेको छ। लाइफलाइन अस्पताल दमकमा उपचाररत बालिकाको अवस्था निगरानीमा रहेको छ। स्कुटर चालक १९ वर्षीया रोशनी लिम्बु उपचारमा संलग्न रहेकी छन् ।