ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत एक नवजात शिशुको मृत्यु भएपछि सोमबार बिहान केही समय तनावको अवस्था सिर्जना भएको छ।

मेरिङदेन गाउँपालिका–५ थुकिम्माका निमा तेम्बा शेर्पाकी श्रीमती २७ वर्षीया मिना दोमी शेर्पाले असार २२ गते राति अस्पतालमा भर्ना भई असार २३ गते बिहान  सामान्य प्रसूति मार्फत छोरीलाई जन्म दिएकी थिइन्।

अस्पतालमै उपचाररत नवजात शिशुको असार २४ गते बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। शिशुको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको आरोप लगाउँदै मृतकका आफन्त करिब ८–१० जना अस्पतालमा भेला भएर विरोध तथा विवाद गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायब निरीक्षक पदम लिम्बुको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

प्रहरीका अनुसार हाल अस्पतालको अवस्था सामान्य रहेको छ भने घटनाबारे थप बुझ्ने कार्य भइरहेको छ ।