बिर्तामोड । झापामा शुक्रबार प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ भने एक घटनामा मोटरसाइकलसहित लागुऔषध बरामद भए पनि संलग्न व्यक्ति फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५ मेचीबटी क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई संयुक्त प्रहरी टोलीले शंका लागेर जाँच गर्दा मुखभित्र प्लास्टिकको पोका बनाई लुकाएर ल्याएको २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
त्यसैगरी, मेचीनगर नगरपालिका–६ पिङ्की ठ्याकमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ शिवालयका २१ वर्षीय विवेक जवेगुलाई पक्राउ गरेको छ। उनको साथबाट ६ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषधसहित मोटरसाइकल पनि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
यस्तै, झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती क्षेत्रमा सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ भारततर्फबाट आएको मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति मोटरसाइकल छाडेर फरार भएका थिए। प्रहरीले मोटरसाइकल जाँच गर्दा ३६ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर तथा डेक्स्ट्रोमेथोर्फान हाइड्रोब्रोमाइड र क्लोरफेनिरामिन मालेटयुक्त १९ बोतल सिरप बरामद गरेको छ। मोटरसाइकल र लागुऔषध नियन्त्रणमा लिइएको तथा फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ।
















