बिर्तामोड । झापा गाउँपालिका–५ स्थित वडा कार्यालयमा चोरी भएको घटनामा प्रहरीले घटना भएको चार घण्टा नबित्दै एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–५ पुरानो शरणामतीका अर्जुन गणेश रहेका छन्। प्रहरीले गणेशले वडा कार्यालयबाट आफूले नै सामान चोरी गरेको स्वीकार गरेको जनाएको छ।
प्रहरीका अनुसार गणेशले चोरी गरेको ल्यापटप भारत लगेर बिक्री गरेको बयान दिएका छन्। बिक्री गरिएको ल्यापटप फिर्ता ल्याउन शरणामती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक तीर्थ भण्डारीको नेतृत्वमा प्रहरी टोली भारत गएको जनाइएको छ।
वडा कार्यालयको पछाडिको झ्यालको सिसा फुटाएर ल्यापटप, दुई थान पेनड्राइभ, मनिटर र स्क्यानर चोरी भएको थियो। चोरी गरिएका मनिटर र स्क्यानर भने वडा कार्यालयबाट करिब २०० मिटर दक्षिणतर्फ घन्सीबारीमा छाडिएको अवस्थामा फेला परेका थिए।
वडाध्यक्ष कृष्णप्रसाद राजवंशीका अनुसार चोरी भएका अन्य सामग्री, पेनड्राइभलगायतका सामानसमेत फेला परेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

















