कोशल भण्डारी
झापा । झापाका निजी तथा आवासीय विद्यालयहरू (प्याब्सन) ले हाल देशभर जारी जेनजी समुहकोआन्दोलनका कारण प्रभावित भएको जनजीवनलाई ध्यानमा राख्दै विद्यालय सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गर्न थालेका छन्।
प्याब्सन झापाका जिल्ला अध्यक्ष छत्र बहादुर कार्कीले दिएको जानकारी अनुसार, आन्दोलनका कारण विद्यार्थीको पठनपाठनमा लगातार अवरोध भएको भन्दै अब स्थानिय निकायसँग मिलेर विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।
"शैक्षिक सत्रमै पढाइ रोकिएर विद्यार्थीको भविष्य प्रभावित हुन नदिन हामीले स्थानीय तहसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न पत्राचार गरिसकेका छौँ," अध्यक्ष कार्कीले भने।
हाल आन्दोलनका कारण यातायात, बजार तथा अन्य सेवासुविधामा व्यापक असर परेको छ। यस्तो अवस्थामा पनि पठनपाठनलाई निरन्तरता दिनुपर्ने आवश्यकताबोध गर्दै प्याब्सनले विकल्प खोजिरहेको जनाइएको छ।
विद्यालय सञ्चालकहरूका अनुसार, विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै मात्रै पठनपाठन अघि बढाइनेछ।



















