बिर्तामोड । झापाको झापा गाउँपालिका–५ पन्थापाडा हुलाकी राजमार्ग क्षेत्रमा ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्।

मंगलबार साँझ करिब ७ बजे प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक तीर्थबहादुर भण्डारीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकाको आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा बिर्तामोड नगरपालिका–१० निवासी २२ वर्षीय रोहित कटुवाल र सोही स्थानका २७ वर्षीय सन्तोष राजवंशीले कालो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याउँदै गरेको ब्राउन सुगरजस्तो देखिने लिसाइलो खैरो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद पदार्थको तौल प्लास्टिकसहित ६ ग्राम ४०० मिलिग्राम र प्लास्टिकबाहेक ५ ग्राम ३० मिलिग्राम रहेको छ।

लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।