दमक । जेनजी आन्दोलनका क्रममा लुटिएको एक थान सट्गनसहित झापामा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–९ रातोपुलस्थित अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्।

प्रहरीका अनुसार कर्णले गत २०८२ साल भदौ २३/२४ गते भएको जेनजी आन्दोलनका क्रममा लुटिएको सट्गन झापाको दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खैबरानीमा लुकाएर राखेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो।

सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले कर्णलाई नियन्त्रणमा लिई खोजतलास गर्दा उनको साथमा रहेको झोलाभित्र प्लास्टिकको बोरामा लुकाइराखेको अवस्थामा सट्गन एक थान फेला पारेको हो।

सट्गन बरामद गरी पक्राउ परेका कर्णमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।