विर्तामोड । झापाको बाह्रदशी गाउँपालिका १ मा जङ्गली हात्ती मृत फेला परेको छ ।
आज भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
तोरीबारीमा हात्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हात्तीको शरीरमा बाहिरी चोट पटक देखिएको छैन । घटनास्थलमा डिभिजन वन कार्यालय झापाका कर्मचारीले अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेका छन् ।
सखरखण्डमा क्षति पुर्याएका कारण स्थानीयले थालेको विद्युतीय पासोमा हात्ती परेको अनुमान प्रहरीको छ ।
हात्तीको आक्रमणबाट गत मंसिर १५ मा हल्दिबारी ३ का वन हेरालु ४० वर्षीय धनवहादुर वनको मृत्यु भएको थियो । उनको मृत्युसँगै झापामा हात्ती आक्रमणवाट यो वर्ष ६ जनाको ज्यान गइसकेको छ ।
डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीका अनुसार भारतबाट नेपाल प्रवेश गरेका हात्तीको समूह अहिले झापामा घुमिरहेको छ ।



















