झापा । झापा गाउँपालिका ४ स्थित भामटोलीमा आगलागी हुँदा एकजना बालकको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनाम हुसैन सेखका साढे ४ वर्षको छोरा अतिप हुसैन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

शुक्रबार दिउँसो साढे ४ बजेको समयमा इनामको घर नजिकैको परालको कुन्यूमा आगलागी भएको थियो । सो आगो सल्किएर इनामको एक तले टिनको छानो भएको  घरमा आगो लागेको थियो ।

उनको छोरा अतिप आगो लागेको नजिकैको मस्जिद र परालको कुन्यूको चेपमा खेलिरहेका थिए । बालक आगोको चपेटामा पर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए । आगो भद्रपुर र बिर्तामोडको दमकल, स्थानीय, नेपाल प्रहरी र सशस्त्रको सहयोगमा नियन्त्रणमा लिएको छ ।