धुलाबारी । ज्यामिरगढीकाे भगवती लेमिनेट्स उद्योगमा आज विहान ५ बजेदेखि सुरु भएकाे आगलागी अझै नियन्त्रणमा आएकाे छैन ।

आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेर नष्ट भएका छन् ।  मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराईका अनुसार सोमबार विहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेकाे छैन । 

उद्योगमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय धुलाबारीका  इन्स्पेटर रोहित शर्माले बताए । अहिले उत्तर र पूर्वतिर आगो नियन्त्रण भएको छ भने पश्चिमतिर अझै पनि नियन्त्रण लिन नसकिएको प्रहरीको भनाई छ । आगो पुर्ण रुपमा नियन्त्रणमा आउन आज दिनभरि लाग्न सक्ने अनुमान उनकाे छ ।

शर्माका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । झापाका ७ वटा स्थानीय तहका बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन्  । उनका अनुसार अब माेरङदेखि थप दमकल मगाइएकाे छ । 

याे समाचार तयार पार्दै गर्दा भारतबाट समेत दमकल बाेलाइएकाे छ । भारतकाे नक्सलबारीबाट दमकल घटनास्थलतर्फ आउँदै गरेकाे मेचीनगर उद्याेग वाणिज्य संघका पुर्व अध्यक्ष विजय डालमियाले जानकारी दिएका छन् ।