अर्जुनधारा । भारतबाट भित्र्याइएको सडेगलेको ५ क्विन्टल माछा सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पले बरामद गरेको छ । बरामद गरिएका माछामा रहु, पमप्लेट रुपचन र पङ्गास प्रजातिका छन् ।

अर्जुनधारा ६ स्थित बिहानी टोलमा आज बिहान ७ः३० बजे तीन वटा मोटरसाइकलमा भित्र्याइएको ५ क्वीन्टल (५ सय केजी) प्रतिबन्धित माछा सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो ।

 को.९ प १६०८, मे. ३ प ९७६१ र मे. ४ प ९६४२ नम्बरको मोटरसाइकलमा भित्र्याइएको सडेगलेका माछा बरामद गरिएको बेस क्याम्पका प्रमुख डिएसपी दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अवैधरुपमा भित्र्याइँदै गर्दा सशस्त्र प्रहरीलाई देखेर मोटरसाइकल छाडी चालक फरार भएका थिए । बरामद मोटरसाइकल मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको छ ।


यसैबीच, बरामद गरिएको माछा बेस क्याम्प परिसरमा नष्ट गरिएकाे छ । स्थानीय तहका जनप्रतिनिधि र खाद्य क्वारेन्टाइन काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहलगायतको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको हाे ।