दमक । गौरीगञ्ज-१ काे कमल खाेलाले बगाएर बिहीबार बेपत्ता भएका लखीराम मुर्मुकाे शव फेला परेकाे छ ।
खाेला तर्ने क्रममा बेपत्ता भएका मुर्मुकाे शव घटनास्थलबाट १ सय मिटर दक्षिणमा फेला परेकाे नेपाल रेडक्रस साेसाइटी झापाका सभापति लाेकराज ढकालले जानकारी दिए । मुर्मुकाे शव खाेला किनारमा बालुवामा घाेप्टाे परेकाे अवस्थामा फेला परेकाे थियाे ।
हिजाे दिउँसो ४ बजे ढेबुबस्तीनजिकै रहेको कमल खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले उनकाे खाेजी गरेका थिए ।
साेही खाेलाले बगाएर बेपत्ता पारेकाे गौरीगञ्ज-१ झोलुङगे टोलका बेद बिकका १३ बर्षिय छोरा मिलन बिकलाई भने हालसम्म फेला पार्न सकिएकाे छैन ।



















