कन्काईमा कानूनी परामर्श तालिम 

 बिर्तामोड । झापाको कन्काइ नगरपालिका-२ मा कानुनी परामर्श तालिम सम्पन्न भएको छ ।

नगरपालिकाको न्यायिक समिति,  मेलमिलापकर्ता,  वडाका निर्वाचित पदाधिकारी र सामाजिक स्वयंसेवकका लागि कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको हो। 

कन्काई नगरपालिकाको समन्वय र कारितास नेपालको आयोजनामा नगरपालिकाका उपप्रमुख तथा कन्काई नगरपालिका न्यायिक समितिको संयोजक आशा शर्मा शिवाकोटीको  प्रमुख आथित्यता र वडा नं २ का वडा अध्यक्ष  बलराम राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 शनिबार सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक  शिवाकोटीले मेलमिलाप विवाद समाधानको बैकल्पिक उत्तम उपाय भएको र मेलमिलाप प्रक्रियाबाट विवाद समाधान भएमा छिटो छरितो एवं जित जितको अबस्था भै पक्षहरू बीच सामाजिक सम्बन्ध समेत पुनःस्थापित हुने हुदा मेलमिलापको ठूलो महत्व रहेको बताइन्।

उनले सबै वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको र ती मेलमिलाप केन्द्र लक्षित गरेर कानूनी परामर्शको तालिम आवश्यक रहेको हुदा मेलमिलाप कर्ताका लागी बेलाबेला यसरीअन्तरक्रिया छलफल हुनु पर्ने धारणा समेत  राखिन् ।

 सहभागीको तर्फबाट बोल्दै पुष्पप्रसाद ओझा र उषा मैनाली चुडालले तालिममा सिकेको कुरा  ब्यवहारमा लागु गरिने बताए ।

 तालिमको सहजीकरण झापा जिल्ला अदालतका शाखा अधिकृत एवं मेलमिलाप प्रशिक्षक रामचन्द्र बस्नेत र अधिवक्ता एवं मेलमिलाप प्रशिक्षक सानू कार्कीले गरेकाल थिए भने तालिममा कन्काइ न पा न्यायिक समिति सदस्य,  ९ वटै वडाका मेलमिलाप कर्ता सहित २८ जनाको सहभागिता रहेको थियो।