झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन् ।
मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रमको भवन शिलान्यास तथा उद्घाटन स्थलतर्फ जाने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध उनीहरूले नाराजुलुश गरेका हुन्। सोही क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा रास्वपाका क्षेत्र नम्बर-४ का सभापति शम्भु सुस्केरा रहेका छन् ।
पार्टीसभापति रवि लामिछानेलाई विना कारण थुनामा राखेको भन्दै उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नारा जुलुश गरेका हुन्। जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आज बिहान झापा आएका हुन्। दुईदिने भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मानव सेवा आश्रममा भवनको शिलान्यास कार्यक्रम पश्चात् अहिले दमक नगरपालिका–३ स्थित डेढ अर्बभन्दा बढी लागतमा नवनिर्मित बिजनेस भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

















