बिर्तामोड । झापाको बिर्तामोडमा यही माघ ८ गतेदेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ हुने भएको छ । 

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म महाेत्सब सञ्चालन हुने भएकाे हाे । संघले पत्रकार सम्मेलन गरेर महाेत्सबबारे जानकारी दिएकाे छ । 

सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यापार व्यवसायलाई प्रवर्दन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । महोत्सवले सानादेखि ठुला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको न्यौपानेले बताए । 

महोत्सवमा नेपालसहित भारत, बंगशादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन गराइने छ । भुटान र श्रीलंकाका व्यवसायीसँग समेत महाेत्सबमा सहभागि हुन आउने बारेमा छलफल चलिरहेकाे न्याैपानेले बताए । 

महोत्सवस्थललाई चार भागमा विभाजन गरिएको छ । प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहने महाेत्सबका संयाेजक बिशाल थापाले जानकारी दिए ।

प्रदर्शनीकक्षमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल प्रदर्शनमा रहनेछन् ।

विशिष्ठ खालका स्टलहरुले सजाइने महोत्सवमा कलाकृतियुक्त मुल प्रवेशद्वारको निर्माण गरिने व्यवस्थापक ललित सिंखडाले जानकारी दिए । 

महोत्सवमा चर्चित कलाकारहरु तथा विभिन्न ब्यान्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । बाल उद्यान क्षेत्रमा पिङलगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुका स्टल रहने महासचिव कुशल खतिवडाले बताए । महोत्सवमा प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, शौचालय, खानेपानी तथा पार्किङकाे व्यवस्था हुने छ ।

पत्रकार सम्मेलनमा आयोजकका पदाधिकारीसहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला समिति संयोजक उमेश डालमिया, नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई लगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।