बिर्तामोड । सिमेन्ट व्यवसायीले सिमेन्टको मूल्यमा असामान्य बृद्धि गरेको
भन्दै झापा बुद्धशान्ति गाउँपालिकाका हार्डवेयर ब्यवसायीहरुले पसल बन्द गरेर
आन्देलन सुरु छन् ।
सिमेन्ट उद्योगहरुले विगत एक महिनायता सिमेन्टको मूल्यमा प्रतिबोरा ३७५
रुपैयाँसम्म बृद्धि गरेको र यसबाट आम उपभोक्ता तथा ब्यवसायीबिचको सम्बन्धमा
नकारात्मक असर परेको भन्दै सिमेन्ट उद्योगहरुलाई मूल्य घटाउनका लागि दबाब दिने
उद्देश्यले बुद्धशान्तिका हार्डवेयर ब्यवसायीहरुले आज सम्पूर्ण पसल बन्द गरेका
हुन् ।
त्यस्तै मेची राजमार्ग हुँदै सिमेन्ट ढुवानी गर्ने सवारीसाधनहरुलाई कम्तीमा
एक घण्टा होल्ड गर्ने दबाबमुलक कार्यक्रमसमेत गरेका छन् । आज बिहान बुद्धशान्ति-१ पुलचोकमा बुद्धशान्ति हार्डवेयर ब्यवसायी संघका अध्यक्ष शिवलाल कोईरालाको
नेतृत्वमा करिब २०/२५ जना हार्डवेयर ब्यवसायीहरु भेला भई
सिमेन्ट बोकेका मालबाहक सवारीसाधन चेकजाँच गरेका थिए ।
बुद्धशान्ति गाउँपालिकामा करिब २२५ वटा हार्डवेयर पसल रहेका छन् ।
हार्डवेयर बन्द गर्ने विषयमा बुद्धशान्ति गाउँपालिका र उद्योग वाणिज्य संघ
बुधवारेलाई जानकारी गराएको वाणिज्य संघका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए ।




















