बिर्तामोड । ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को तयारी पूरा भएको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पुगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
महोत्ससव भोलिदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ । बिर्तामोड महोत्सवको करिव दुई लाखले अवलोकन गर्ने अनुमान आयोजकको छ । महोत्सवले बिर्तामोडको मात्र नभई कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अध्यक्ष न्यौपानेको भनाई छ । महोत्सवमा छिमेकी राष्ट्रहरुबाट समेत आएर व्यवसायीले स्टल राख्ने र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने न्यौपानेले बताए।
‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’मा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडमा आयोजना गरिएको महोत्समा तयार गरिएको ह्याङ्गर २० हजार स्क्वार फुटको रहेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए ।
ह्याङ्गार ३० मिटर चौडाई र ६० मिटर लम्वाइको रहेको व्यवस्थापक सिम्खडाको भनाई छ । ह्याङ्गार भित्र ११८ वटा स्टल रहन सक्ने र यो ह्याङ्गर नेपालकै ठूलो ह्याङ्गर भएको उनको दावी छ ।
महोत्सवमा १५० वटा स्टल रहने छन् । जहाँ सार्क राष्ट्रका व्यवसायीले स्टल राख्ने छन् । स्थानीय क्षेत्रमा रहेका सबैखाले उद्योगहरुलाई समेट्दै व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवमा गाडीदेखि गार्मेन्टसम्मका स्टल रहने सिम्खडाको भनाई छ ।
महोत्सवमा एकैखाले सामाग्री धेरै भन्दा पनि धेरै खाले सामग्री एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य रहेको र उपभोक्ताले सबै सामग्री एकै ठाउँमा प्राप्त गर्न सक्ने उनको भनाई छ । सबैखाले मापदण्ड पूरा गरेर आयोजना गरिएको महोत्सवमा सेल्फी जोनदेखि मूलद्वार आकर्षक कलाकृत्तिमा बनेको उनको भनाई छ ।


















