बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ सुरु हुँदैछ ।

महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् । आज महोत्सवको उद्घाटनको अवसरमा विभिन्न जातजातिको भेषभूषा, बाजागाजा, सामाजिक संघ–संस्था, उद्योगी व्यवसायी र सुभेक्षुकको उपस्थितिमा नगर परिक्रमा गरिँदै छ ।

१९ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक सय ५० वटा स्टल रहेका छन् । जसमा भारत, भुटान, बंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनका स्टल रहनेछ ।

कृषिजन्यदेखि विभिन्न उत्पादन महोत्सवमा रहनेछ । महोत्सवमा बालबालिकाकादेखि ज्येष्ठ नागरिकसम्मले मनोरञ्जन र लाभ लिन सक्ने  छन् । महोत्सवमा कृषि उद्यम र कृषि व्यापार विशेष प्राथमिकतामा राखिएको आयोजक संस्था बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए।

“अलैंची, अदुवा, कुचो, चिया, सुपारी, मसलालगायतका नेपाली कृषिजन्य वस्तुलाई महोत्सवमा विशेष प्राथमिकता दिइएको छ”, उनले भने, “महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रर्वद्धन गर्ने हाम्रो अपेक्षा छ ।”

महोत्सवले यहाँका व्यवसायी मार्फत कृषि उत्पादनको प्रशोधनदेखि तयारी वस्तु उत्पादन गरेर रोजगार सिर्जना गराउन थप बल प्रदान गर्ने विश्वास लिइएको न्यौपाने बताउँछन् ।

महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय–पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको महासचिव कुशल खतिवडाले जानकारी दिए ।

महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहनुका साथै विभिन्न जातजातिका कला–संस्कृतिलाई समेत समेटिने जनाइएको छ । दुई लाखभन्दा बढीले महोत्सवे अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।