दमक । झापाको दमकमा आइतबार दिउँसाे बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । दमक –६ स्थित गणतन्त्र चोकमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा निस्किएकाे समुह र प्रहरीबीच झडप भएकाे हाे ।
सडकको बिच भागमा टायर बालेर बन्दकर्ताले अवरोध गर्न खोजेका थिए । त्यसक्रममा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोज्दा बन्दकर्ताहरुले प्रहरीमाथि ढुंगा हानेका थिए । ढुंगा प्रहारबाट मे १ च ५१६१ नं को स्कर्पियाे केही सवारी साधनमा क्षति पुगेको छ ।
झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ३ सेल अश्रुग्यास प्रहार गरेको छ भने केही बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक लगेको छ । त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो ।
यातायात अवरुद्ध पार्न खोज्दा अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । यसअघि बिहान आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले ३ जना बन्दकर्तालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पदम बेघा, धनकुमार योङहाङ र शुक्र लिम्बू रहेका छन् ।