बिर्तामोड । महिलाले नेतृत्व गरेको स्थानीय तहमा प्राप्त हुने बजेटले निर्माण सम्पन्न गर्नुपर्ने संरचना बिर्तामोडमा यो बर्ष पूरा भएका छन् । सघन शहरी विकास कार्यक्रम अन्तर्गतका योजना तोकिएको समय अगावै सम्पन्न भएका हुन् । 

IMG-20250316-WA0013

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) मा आज कालोपत्रे गरेसंगै ७ वटा योजनाहरु सम्पन्न भएका हुन् । सघन सहरी विकास कार्यक्रम अन्तर्गत बिर्तामोडमा ६ वटा सडकको स्तरोनन्ति र एउटा सामुदायिक भवन निर्माण गरीएको हो ।

स्तरोनन्ति गरिएका सडकहरुमा वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग (१२ सय ४०मि) र अतिथि सदन रोड (९ सय २५ मि), वडा नम्बर २ को बानालाल मार्ग (१ कि.मि), वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै बिराटपोखर विद्यालय जाने सडक  (१२ सय ४० मि), वडा नम्बर ८ को गरामनी- कटहरडाँगी हुँदै हल्दीबारी जोड्ने सडक (१२ सय ४० मि) र  बुट्टाबारी एभरेष्ट स्कुलहुँदै हरिहर आश्रम सडक (१२ सय ४० मि) रहेको छ । 

करीब ७ किलोमिटर सडकसंगै वडा नम्बर ६ मा रहेको हरियाली सामुदायिक वनमा एउटा सामुदायिक भवन पनि निर्माण गरीएको छ । 

सबै योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाईले गत भदौ २० गते एकमुष्ठ शिलान्यास गरेकी थिईन् । शान्ति उद्धेश्य निर्माण सेवाले भ्याटबाहेक ६ करोड ३१ लाख रुपैयाँमा ठेक्का लिएर काम सम्पन्न गरेको हो । 

कार्यबाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले केही सडकहरुमा ड्रेनको समस्या रहेकोले आगामी वर्षका योजनाहरुमा समेट्ने बताएका छन् । यस्तै नगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले वडा नम्बर १ मा रहेको धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग २०१५ साल भन्दा अगाडिको सडक रहेको र यसमा पनि कालोपत्रे गर्न सफल भएको बताए । उहाँले सबै कालो पत्रेका कामहरु गुणस्तरीय रहेको बताउनु भएको छ । 

ठेकेदार नयन बरालले योजना सञ्चालनको समयमा जनप्रतिनिधिले राम्रो साथ दिएको बताए । वडा नम्बर १ संगै समग्र बिर्तामोड नगरपालिकाको काममा आफुहरु सन्तुष्ट रहेको स्थानीयको भनाई छ ।